
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका प्रधानाध्यापकहरूलाई लागू औषधको दुर्व्यसनी र साइबर अपराध रोकथाम सम्बन्धी प्रशिक्षण दिइएको छ । सामाजिक विकास कार्यालय रुकुम पश्चिमले सार्वजनिक शिक्षा सुधारका साथै लागू औषध दुर्व्यसनी रोकथाम, साइबर अपराध, अनलाइन हिंसा न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिएको हो ।
यसका साथै लैङ्गिक हिंसा, समानता तथा सकारात्मक सोचका बारेमा समेत प्रअहरुलाई सहजिकरण गरिएको सामाजिक विकास कार्यालयका महिला विकास निरीक्षक पाँचौँ शशीला घर्तीले जानकारी दिनुभयो । विद्यार्थीहरू लागु औषध दुर्व्यसनीको सिकार हुनुका साथै साइबर अपराधको सिकार हुने तथा साइबर अपराधमा संलग्न हुनसक्ने समेत जोखिम रहेकोले प्रअहरु मार्फत यसलाई रोक्न कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
लागु औषध दुर्व्यसनी, यसलाई कसरी रोक्ने, साइबर अपराध तथा अनलाइन हिंसा के हो, यसबाट कसरी जोगिने र जोगाउने, कानूनी उपचार लगायतका विषयमा सहजिकरण गरिएको घर्तीको भनाई छ । वार्षिक स्वीकृत कार्यक्रम अनुसार यो कार्यक्रम सञ्चालन गरिएको हो । सोमबार भएको कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पाेख्रेल, सशस्त्र प्रहरी नायव निरीक्षक झक्कुप्रसाद शर्मा र कमप्रसाद देवकोटाले गर्नुभएको थियाे ।
कार्यालयले चालु वर्षमा पनि सामाजिक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेकाे कार्यालयका निमित्त प्रमुख ध्रुवकुमार बाँठा मगरले जानकारी दिनुभयाे ।