
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको एक विद्यालयको अगुवाइमा अमेरिकामा रहेका नेपाली मूलका गणित शिक्षकहरूले आठबिसकोटका गणित शिक्षकहरूलाई त्यहाँको पठनपाठनका बारेमा सहजिकरण गर्न थालेका छन् । अमेरिकाको शिक्षण तरिकालाई यहाँ पनि लागु गरी शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले जनविकास मावि घारीखोलाले यसको अगुवाइ गरेको छ ।
पहिलो चरणमा आइतबार आठबिसकोटका गणित शिक्षकहरू र अमेरिकामा रहनुभएका गणित शिक्षक हरिकृष्ण पुडासैनी तथा इक्वालिटी फाउन्डेसनका प्राेफेसर डाक्टर मेदिनी अधिकारी बिच सिकाई आदान प्रदान भएको जनविकास माविका प्रधानाध्यापक टिकाराम केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो हप्ता परिचयात्मक कार्यक्रम सहित सामान्य विषय प्रवेश मात्र भएको र अब अर्को हप्ता देखि विषयवस्तुमा केन्द्रित हुने छ । अब देखि हरेक हप्ताको एक दिन १ देखि डेढ घण्टासम्म भर्चुअल रूपमा आठबिसकोटका गणित शिक्षक र अमेरिकामा रहेका नेपाली मूलका गणित शिक्षकहरू जोडिने छन् ।
जस क्रममा अनुभव साटासाट सहित अमेरिकामा भइरहेका पठनपाठनका राम्रा अनुभवहरूलाई अवलम्बन गर्ने गरी कक्षा सञ्चालन हुने केसीले जानकारी दिनुभयो । अमेरिकाको शिक्षण तरिकाका बारेमा त्यहाँ रहेका फरक फरक गणित शिक्षकहरूले सहजिकरण गर्ने छन् ।
प्रत्येक हप्ता फरक फरक शिक्षकहरू जोडिने र शिक्षक व्यवस्थापनको काम इक्वालिटी फाउन्डेसनका प्राेफेसर डाक्टर मेदिनी अधिकारीले गर्नुहुने छ । यो कार्यक्रममा आठबिसकोट नगरपालिकाको समेत सहयोग रहेको छ ।