Kakhara सबैको खबर सम्पूर्ण खबर
यातायात कार्यालय चौरजहारीबाट स्मार्ट लाइसेन्स वितरण सुरु, १५ सय स्मार्ट लाइसेन्स आइपुगे

यातायात व्यवस्था सेवा कार्यालय चौरजहारी रुकुम पश्चिमले स्मार्ट सवारी चालक अनुमति पत्र लाइसेन्स वितरणको काम सुरु गरेको छ । कार्यालयले बिहीबारदेखि स्मार्ट सवारी चालक अनुमति पत्र लाइसेन्स वितरणको काम सुरु गरेको हो । कार्यालयले २०८० साल साउन २२ गतेदेखि सेवा सुरु गरेको थियो । सेवा सुरु गरेको एक वर्षभित्रै कार्यालयको पहलकदमीले सेवा ग्राहीलाई स्मार्ट सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गर्न सफल भएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाइले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभागबाट कार्यालयमा १ हजार ५ सय ११ वटा स्मार्ट लाइसेन्स आइपुगेका छन् । बिहीबार पहिलो दिन २५ जना सवारी चालकलाई स्मार्ट लाइसेन्स वितरण गरिएको छ । अन्य स्मार्ट लाइसेन्स लिन बाँकी रहेका सवारी चालकलाई सूचना मार्फत जानकारी बनाएको र  वितरण प्रक्रिया नियमित गरिने प्रमुख चपाइले जानकारी दिनुभयो ।

laisens-1720092128.jpg

कार्यालयमा प्राप्त भएका २ सय ५० स्मार्ट लाइसेन्स नवीकरण गरेका र बाँकी  १ हजार ६१ लाइसेन्स नयाँ आएका हुन् ।  यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीबाट हालसम्म १ हजार नै सय ५१ लाइसेन्स जारी भएका छन् । हाल कार्यालयबाट मोटरसाइकल, स्कुटर, जिप, कार र अटो रिक्साको चालक अनुमति पत्र जारी भएका छन् । 

अन्य ठाउँमा स्मार्ट लाइसेन्स दुई वर्षभन्दा बढी समय लाग्ने गरेकामा  चौरजहारीबाट भने एक वर्ष नहुँदै स्मार्ट लाइसेन्स वितरण गर्न सफल भएको कार्यालयले जनाएको छ । अनुमति पत्र लाइसेन्सको लागि रुकुम पश्चिम, पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, डोल्पा र कालिकोटसम्मका सेवाग्राही आउने गरेको कार्यालय प्रमुख चपाइले जानकारी दिनुभयो ।

चौरजहारीमा २०७६ साल भदौ १२ गते यातायात कार्यालय स्थापना भए पनि तीन वर्षपछि २०७९ फागुन २१ गतेदेखि सेवा प्रारम्भ भएको थियो । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update