Kakhara सबैको खबर सम्पूर्ण खबर
शैक्षिक सुधारको लागी रुकुम पश्चिम र जाजरकोट जिल्लाका शिक्षकहरूलाई तालिम प्रदान

भूकम्प प्रभावित विद्यालय अन्तर्गत अस्थायी सिकाई केन्द्र (टिएलसी टाइप टु) निर्माण भइरहेका ३१ वटा विद्यालयका शिक्षकहरूलाई ५ दिने क्षमता विकास तालिम दिइएको छ । युनिसेफको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमको सहजीकरणमा उक्त तालिम सञ्चालन गरिएको हो । 

रुकुम पश्चिमका सानोभेरी गाउँपालिका, आठबिसकोट नगरपालिका तथा जाजरकोट जिल्लाका नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा टिएलसी टाइप टु निर्माणको अन्तिम अवस्थामा रहेका विद्यालयका कक्षा १ देखी ३ कक्षासम्म अध्यापन गर्ने शिक्षकहरू मध्ये बाट एक एक जनालाई तालिम दिइएको हो । 

तालिममा प्रारम्भिक कक्षा सिकाई, सिकाई आपूरण तथा द्रुत सिकाई योजना, विपत् मा शिक्षा र मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी लगायतका विषयमा तालिम दिइएको थियो । आपत्कालीन अवस्थामा सिकाइलाई निरन्तरता दिने, भूकम्प पश्चात् सिकाइमा परेको क्षतिलाई पूर्ति गर्ने, एकीकृत शिक्षण सिकाई रणनीति विकास र प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले तालिम प्रदान गरिएको परियोजनाका कार्यक्रम संयोजक रमेशकुमार गौतमले जानकारी दिनु भयो ।

photo-1721271299.jpg
तालिमको सहजीकरण युनिसेफका शिक्षा अधिकृत परशुराम पन्थ, स्रोत व्यक्ति पुरुषोत्तम गिरी, आठबिसटको नगरपालिकाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्ट, झरना बिक लगायतले गर्नुभएको थियो ।

शिक्षा पुनः लाभ अन्तर्गत रुकुमेली समाज विकास केन्द्रको सहजीकरणमा रुकुम पश्चिम र जाजरकोट जिल्लाका चार वटा पालिकामा उक्त कार्यक्रम विगत २ महिना देखी सञ्चालन भइरहेको कार्यक्रम संयोजक गौतमले दिनुभयो । 

भूकम्प पश्चात् आपत्कालीन अवस्थामा युनिसेफको आर्थिक सहयोगमा रुकुम जिल्लाका सबै पालिका र जाजरकोट जिल्लाका दुई वटा पालिकामा रुकुमेली समाज विकास केन्द्रले शिक्षा र खानेपानी तथा सरसफाइमा काम गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update