
रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण अभियान सुरु भएको छ । जनचेतना लगायतका विभिन्न गतिविधि मार्फत आत्महत्या रोकथामका लागि भूमिका खेल्न जिल्लाभरमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान सुरु भएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लास्थित सरोकारवालासँगको साझेदारीमा अघि बढ्ने गरी अभियान थालनी भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले अभियान शुभारम्भ भएको घोषणा गर्नुभयो ।
यो अभियान अन्तर्गत जिल्लाका सबै पालिका तथा वडासम्मै विभिन्न सचेतनामूलक गतिविधिहरू सञ्चालन हुने डिएसपी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो अभियानका लागि प्रहरी प्रधान कार्यालयले कार्य योजना निर्माण गरेको छ । उक्त कार्य योजनामा आत्महत्या रोकथामका लागि कुन महिनामा के कार्यक्रम गर्ने भनेर स्पष्ट उल्लेख रहेको र जिल्लामा सोही अनुसारका गतिविधिहरू सञ्चालन हुने उहाँको भनाई छ । यो कार्य योजना आत्महत्यालाई कसरी रोक्न सकिन्छ भन्नेमै केन्द्रित रहेको उहाँले बताउनुभयो ।
कार्य योजना कार्यान्वयनका लागि जिल्लामा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन समेत गरिएको छ । समितिको सल्लाहकारमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त रहनुभएको छ भने संयोजकमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेल रहनुभएको छ । समितिमा स्वास्थ्य सेवा सेवा कार्यालय, जिल्ला अस्पताल, जिल्ला आयुर्वेद, शिक्षा विकास तथा समन्वय इकाई, मुसिकोट नगरपालिका, रेडक्रस, स्काउट, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, होटेल व्यवसायी, गैसस महासंघ, सामाजिक विकास कार्यालय लगायतका जिल्लास्थित सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू सदस्यका रूपमा रहेका छन् । अब जिल्लाका सबै पालिकाहरूमा कार्यदल गठन हुने डिएसपी पोखरेलले बताउनुभयो ।
पालिका स्तरीय कार्यदलमा स्वास्थ्य शाखा प्रमुख संयोजक र पालिका स्तरमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुख सह संयोजक रहने छन् । त्यसमा पनि पालिका स्तरीय विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि सदस्य रहने छन् । जिल्ला प्रहरी प्रमुख पोखरेलको अध्यक्षतामा भएको अभियान शुभारम्भ तथा समिति गठन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सुरक्षा निकाय, जिल्ला स्थित सरकारी तथा गैरसरकारी सङ्घसंस्था र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा आत्महत्याको अवस्था, यसका कारण, न्यूनीकरणका उपाय तथा अभियान सम्बन्धी कार्य योजनाका बारेमा प्रहरी प्रमुख पोखरेलले प्रस्तुतीकरण राख्नुभएको थियो ।