Kakhara सबैको खबर सम्पूर्ण खबर
सितलपाेखरी-चुनवाङ सडक सूचारु
घोरनेटीमा झरेको पहिरो ।

रुकुम पश्चिमको सितपोखरी चुनवाङ सडक खण्ड अन्तरर्गत पर्ने मुसिकोट नगरपालिका वडा नम्बर ९ को घोरनेटी सडक खण्डमा झरेको पहिरो हटाएसँगै सडक सूचारु भएको छ । गत शनिबार राति सडक माथिबाट खसेको पहिरो हटाएसँगै उक्त सडक खण्ड बिहिबारबाट सूचारु भएको हो । सडक अबरुद्ध हुँदा ९ र १० नम्बर वडाका विभिन्न ठाउँमा जाने सवारी साधन आवतजावत हुन सकेका थिएनन् ।

पहिरोकै कारण पैदल यात्रीलाई समेत जिल्ला सदरमुकाम खलंगासम्म आवतजावतमा समस्या हुने गरेको थियो । सोही समस्यालाई मध्यनजर गर्दै ९ नम्बर वडा कार्यालयको पहलमा डोजर भाडामा लिएर पहिरो हटाएको वडा अध्यक्ष शशिराम पुनले जानकारी दिनुभयो । उहाँका अनुसार घोरनेटीमा ठुलो पहिरो झरेकाले करिव १० घण्टा लगाएर सडक सूचारु गरिएको छ ।

सडक माथिबाट पहिरो खस्ने जोखिम कायमै रहेकाले सडक नियमित सञ्चालन गर्न डोजर तयारी अवस्थामै राखिएको उहाँले जानकारी दिनुभयो । सडक सूचारु भएसँगै वडा नम्बर ९ र १० को विभिन्न ठाउँमा आवतजावत गर्ने सवारी साधन तथा पैदल यात्रीहरुलाई समेत सहज भएको वडा अध्यक्ष पुनले जानकारी दिनुभयो । 
jcb-1723710963.png

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update