Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यावाङकी एक सुत्केरी  महिलालाई  हेलिकप्टर मार्फत उद्धार गरी सुुर्खेत  पठाइयो 

रुकुम पश्चिमबाट एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बिहीबार जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ११ माथिल्लो स्यावाङकी अन्दाजी १९ बर्सिया सिता विकलाई उद्धार गरी थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । घरमा सुत्केरी भई बुधवार जिल्ला अस्पताल सल्ले आएकी १९ बर्सिया सितालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो ।

बुधवार घरमै बच्चालाई जन्म दिएकी सिताको साल नखसेपछि जिल्ला अस्पताल सल्ले ल्याइएको हो । जिल्ला अस्पतालमा त्यसको उपचार गर्ने विधि नभएकोले थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । सबै विवरणको अध्ययन गरेर सिताको थप उपचारको लागि हेलिकप्टर मार्फत उद्धार गरिएको  सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । 

गर्भवती तथा सुत्केरी महिलालाई जटिल समस्या देखिएमा थप उपचारको लागि अन्यत्र लैजानु परेमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले निःशुल्क रूपमा उद्धार गर्ने गरेको छ ।  

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update