Kakhara सबैको खबर सम्पूर्ण खबर
पितिवाङ खोलामा राप्ती राजमार्ग अवरुद्ध, मध्यपहाडी लोकमार्ग पनि राेकियाे  

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ को बिचमा पर्ने पितिबाङ खोलामा पानीको बहाव बढ्दा राप्ती राजमार्ग अवरुद्ध भएको छ । गएरातीको वर्षाका कारण पितिवाङ खोलाको बहाव बढ्दा राप्ती राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलका अनुसार खोलाको बहाव बढ्दा खोलामा रहेको कल्भर्ट भन्दा माथिबाट पानी बग्न थालेपछि राजमार्ग अवरुद्ध भएको हो ।

बाटोमा केही समस्या नभएको र पानीको सतह घट्ने बित्तिकै राजमार्ग सुचारु हुने उहाँको भनाई छ । राजमार्ग अवरुद्ध हुँदा बिहानै देखि दाङ जाने सवारी साधन तथा सदरमुकाम मुसिकोट आउने साना ठुला सवारी साधन पितिवाङ खोलामा अडिएका छन् । यो खोलामा पुल नहुँदा बर्सेनि वर्षायाममा यसैगरी अवरुद्ध हुने गरेको छ । यो ठाउँमा वर्षौं देखि सवारी साधन तथा यात्रुहरुले सास्ती खेपिरहेका छन् । 

यसैबिच रुकुम पश्चिम खण्डमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । चौरजहारी मुसिकोट खण्ड अन्तर्गत सानीभेरी गाउँपालिकाको चाइनाबगर र गिठागोटमा पहिरो झर्दा लोकमार्ग अवरुद्ध भएको डिएसपी पोखरलले जानकारी दिनुभयो । गएरातीको वर्षाका कारण सडकमा पहिरो झरेका कारण लोकमार्ग अवरुद्ध रहेको उहाँको भनाई छ । लोकमार्ग खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update