रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा रहेको ठुली दह केही वर्ष अघिसम्म गुमनाम जस्तै थियो । स्थानीय बाहेक यो ठाउँका बारेमा बाहिर खासै जानकारी दिएन । तर २०७४ पछि भने ठुली दह धेरैका माझमा परिचित बनेको छ । मनसुन गन्तव्यका रूपमा रहेको ठुली दहमा हाल दैनिक ठुलो सङ्ख्यामा आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् । शनिवार तथा अन्य छुट्टी दिन ठुली दहमा मानिसहरूको भिड अझ बढी हुन्छ । सदरमुकाम मुसिकोट खलङ्गाबाट नजिकै भए पनि प्रचारप्रसार लगायतका कारणले ठुली दह ओझेलमा थियो ।
तर २०७४ सालमा स्थानीय तह बनेपछि भने ठुली दहले पर्यटक पाउन थाल्यो । वडा सरकार हुँदै नगर सरकारले ठुली दहको प्रचारका लागि विभिन्न कार्यक्रमहरू गर्न थाले । त्यसपछि बिस्तारै ठुली दहको चर्चा चुलिन थाल्यो । ठुलो फाँट, नजिकै रहेको ताल, वरिपरि घना जङ्गल तथा बुट्यानले भरिपूर्ण ठुली दह क्षेत्र जो कोहीलाई मोहित बनाउन काफी छ । नजिकको तीर्थ हेलाको पगरी गुथेको ठुली दहको परिचय बिस्तारै फेरिँदै गयो । मानिसहरू पुग्न थाले । एक कान दुई कान मैदान हुँदै जिल्ला बाहिर समेत ठुली दहको चर्चा हुन थाल्यो । हाल रुकुम पश्चिम मात्र नभई यो ठाउँमा घुम्नका लागि रुकुम पूर्व, जाजरकोट, सल्यान, रोल्पा लगायतका जिल्लाबाट समेत मानिसहरू पुग्न थालेका छन् । २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित मुसिकोट नगरपालिकाको जनप्रतिनिधिको नयाँ टोलीले ठुली दहमा नगर सभा समेत गर्यो ।
यसले पनि यहाँको प्रचारमा थप टेवा पुग्यो । पर्यटकीय हिसाबले जति महत्त्वपूर्ण छ ठुली दह त्यति नै धेरै धार्मिक रूपमा पनि परिचित छ । ठुली दहको फेदमा चिटिक्क मिलेको साँख दह छ । जनजाति, दलित तथा क्षेत्री समुदायको बाहुल्यता रहेको यस गाउँका स्थानीयका लागि ठुली दह पवित्र धार्मिक क्षेत्र पनि हो । खडेरी पर्यो भने ठुली दहमा गएर पूजा पाठ गरी पानी मागेमा पानी पर्छ भन्ने जनविश्वास कायम छ । यसै वर्ष पनि साँख गाउँका स्थानीय पानी माग्न ठुली दहसम्म पुगेका थिए । बाजागाजा सहित गाउँ नै उठेर ठुली दह जाने, परम्परा अनुसार पूजापाठ गरेर पानी माग्ने र साँझ पुनः गाउँ फर्किने चलन छ । यसरी पानी माग्दा पानी पर्छ भन्ने मान्यता परापूर्व काल देखि कायम रहेको वडाध्यक्ष एक्कबहादुर पाण्डे बताउनुहुन्छ ।
ठुली दहलाई प्राथमिकतामा राखेर वडा तथा नगर सरकारले नै काम गरिरहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार मध्यपहाडी लोकमार्गको बैरी दह देखि ठुली दहसम्म पदमार्ग निर्माण गरिएको छ । पदमार्गका बिचमा पर्ने खोलामा पुल समेत निर्माण भएका छन् । ठाउँ ठाउँमा प्रतीक्षालय छन् । साथै मार्किङ समेत गरिएको छ । ठुली दहमा पिकनिक स्पटको व्यवस्था छ भने आकाशे पानी सँगालेर खानेपानीको व्यवस्थापन समेत गरिएको छ । नगरपालिकासँग मिलेर नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम, डिभिजन वन कार्यालय लगायतले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माणमा काम गरेका छन् ।
ट्रेकिङका लागि उपयुक्त गन्तव्य
ठुली दह ट्रेकिङका लागि समेत उपयुक्त गन्तव्य हो । मध्यपहाडी लोकमार्ग हुँदै मुसिकोट खलङ्गा वा रुकुम पूर्वको रुकुमकोट हुँदै साँखको बैरी दह भन्ने ठाउँमा पुग्न सकिन्छ । त्यसपछि भने सुरु हुन्छ ठुली दह जाने ट्रेकिङ रुट । केही उकालो, तेर्सो हुँदै करिब आधा घण्टामा ठुली दह पुग्न सकिन्छ । ट्रेकिङमा रुचि हुनेहरूका लागि यो उपयुक्त ट्रेकिङ रुट हो ।
सजिलो पदमार्ग भएका कारण धेरै अप्ठ्यारो पनि नहुने र धेरै लामो नभएकोले नजिकै र छोटो दुरीमा ट्रेकिङको मजा लिन चाहनेहरूका लागि यो निकै उपयुक्त छ । त्यसमा पनि बाटोमा पर्ने खोला, जङ्गल, विभिन्न प्रजातिका फुल, बोट बिरुवा लगायतले जो कसैको पनि मन जित्छ । ठुली दह उक्लिँदै गर्दा उचाइबाट देखि चारै तिरको सुन्दरताले थप मोहित बनाउँछ । तपाई पनि ट्रेकिङमा रुचि राख्नुहुन्छ भने यो समय र बैरी दह–ठुली दह रुट तपाइका लागि सबैभन्दा उत्तम हुन सक्छ । ढिलो नगर्नुहोस् ।