
रुकुम उद्योग वाणिज्य सङ्घले जिल्लाका तीन पालिकामा कर शिक्षा सम्बन्धी अन्तरक्रिया गर्ने भएको छ । सङ्घको सचिवालय बैठकले जिल्लाका बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकामा व्यापारी, उद्योगीहरूसँग कर शिक्षा सम्बन्धी अन्तरक्रिया गर्ने जनाएको छ । कर सम्बन्धी सचेतना फैलाउने र व्यापारी, उद्योगीहरूमा समयमै नियमित कर तिर्ने वाणीको विकास गरी जरिवानाबाट बचाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको सङ्घले जनाएको छ ।
यसका साथै सङ्घले व्यावसायिक ज्ञान सम्बन्धी छलफल समेत हुने रुकुम उद्योग वाणिज्य सङ्घका सचिव रमेश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार भाद्र १३ गतेभित्र अन्तरक्रिया गरिसक्ने निर्णय भएको छ । बाँफिकोट गाउँपालिकामा भाद्र ५ गते छिनखेतमा अन्तरक्रिया गर्ने निश्चित भइसकेको र सानीभेरी तथा त्रिवेणीमा मिति तय हुन बाँकी रहेको उहाँको भनाई छ । गाउँपालिकामा सकेपछि नगरपालिकामा पनि कार्यक्रम सञ्चालन गर्ने रुकुम उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
त्यस्तै बैठकले भाद्र १४ गते सङ्घको कार्यसमितिको बैठक बस्ने र बितेको आर्थिक वर्ष २०८०/०८१ को समीक्षा गर्ने र चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । भाद्र महिना भित्र साधारण सभा समेत गर्ने गरी तयारी भइरहेको रुकुम उद्योग वाणिज्य सङ्घले जनाएको छ ।