Kakhara सबैको खबर सम्पूर्ण खबर
दुई वर्षमा ११ हजार व्यक्तिले बनाए राहदानी, नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या बढ्दो

रुकुम पश्चिममा झन्डै ११ हजार व्यक्तिले राहदानी बनाएका छन् । दुई वर्षको अवधिमा जिल्लामा १० हजार ७ सय ८० व्यक्तिले राहदानी बनाएका हुन् । आर्थिक वर्ष २०७९/०८० र गत वर्षमा गरेर जिल्ला प्रशासन कार्यालयबाट १० हजार ७ सय ८० व्यक्तिले राहदानी बनाएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ७ हजार ४ सय २२ र गत वर्षमा ३ हजार ३ सय ५८ व्यक्तिले राहदानी बनाएका हुन् । अघिल्लो आर्थिक वर्षमा नागरिकता बनाउने भन्दा राहदानी बनाउने व्यक्ति धेरै रहेकामा गत वर्षमा भने राहदानी बनाउने सङ्ख्या घटेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।अघिल्लो आर्थिक वर्षमा ७ हजार ४ सय २२ व्यक्तिले राहदानी बनाउँदा ५ हजार ९ जना व्यक्तिले मात्र नागरिकता बनाएका थिए । गत वर्षमा भने राहदानी बनाउनेको सङ्ख्या घटेर ३ हजार ३ सय ५८ हुँदा नागरिकता बनाउनेको सङ्ख्या ५ हजार ८ सय २ रहेको छ । 

त्यस्तै जिल्लामा नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या पनि पाइएको छ । सुरुमा बनाएको नागरिकता सुरक्षित नराख्दा नागरिकता हराएर प्रतिलिपि आउनेको सङ्ख्यामा वृद्धि हुने गरेको प्रजिअ पन्तले जानकारी दिनुभयो । दुई वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट ६ हजार ८ सय  ५१ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । अघिल्लो आर्थिक वर्षमा ३ हजार ३ सय ४६ जनाले नागरिकताको प्रतिलिपि लिएकामा गत वर्ष बढेर ३ हजार ५ सय ५ जनाले प्रतिलिपि लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

जिल्लामा नयाँ नागरिकता प्राप्त गर्ने सङ्ख्याको आधाभन्दा बढी व्यक्तिले प्रतिलिपि लिने गरेका छन् । दुई वर्षमा दश हजार ८ सय ११ नयाँ नागरिकता जारी हुँदा ६ हजार ८ सय ११ व्यक्तिलाई नागरिकताको प्रतिलिपि प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या बढेपछि प्रतिलिपि लिन आउने व्यक्तिलाई नागरिकता सम्बन्धी शिक्षा समेत दिने गरिएको प्रजिअ पन्तले जानकारी दिनुभयो । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update