Kakhara सबैको खबर सम्पूर्ण खबर
नव नियुक्त उपकुलपति र अध्यक्षलाई विश्वविद्यालय समन्वय समितिको बधाई 

विश्वविद्यालय समन्वय समितिले विभिन्न विश्वविद्यालयका नव नियुक्त अध्यक्ष र उपकुलपतिहरूलाई बधाई ज्ञापन गरेको छ । समितिले नव नियुक्त योगमाया आयुर्वेद विश्वविद्यालयका अध्यक्ष डा.अर्जुनकुमार कार्की, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बराल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमलाई बधाई दिएको हो । 

त्यस्तै समितिले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.विजु थपलियालाई पनि बधाई तथा सफलताको शुभकामना दिएको हो । कार्यक्रम भर्चुअल भएको समितिले जनाएको छ । 

कार्यक्रममा उपस्थिति अतिथिहरूलाई विश्वविद्यालय समन्वय समितिका सदस्य तथा उप प्राध्यापक मुकुन्दप्रसाद शर्माले कार्यक्रमको समग्र विषयमा जानकारी दिनुभएको थियो । स्वागत मन्तव्य भने विश्वविद्यालय समन्वय समितिका तर्फबाट उप प्राध्यापक डा.दीपकचन्द्र भट्ट, उप प्राध्यापक रामप्रसाद कँडेल र उप प्राध्यापक शङ्करप्रसाद दाहालले राख्नुभएको थियो । 

आफ्नो विचार राख्ने क्रममा मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राध्यापक डा.भारती जोशीले बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नका लागि सबै निकायहरूबाट आवश्यक पहल गर्नुका साथै हाल खुलेका सबै विश्वविद्यालयहरूलाई यथास्थानमै राखिनु पर्ने बताउनुभयो । 

यदि कहीँ कतैबाट अवरोध हुने सङ्केत पाएमा सबै एकजुट भएर अघि बढ्नुपर्ने उहाँको भनाई थियो । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीले नवनियुक्त सबै अध्यक्ष एवं उपकुलपतिलाई आफ्नो कार्यकालमा विश्व विद्यालयहरूले थप प्रगति गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै विश्वविद्यालय अनुदान आयोगको निरन्तर साथ र समर्थन रहने प्रतिबद्धता जनाउनुभयो । 

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.प्रेमनारायण अर्यालले हालसम्म खुलेका सबै विश्वविद्यालयहरू जुन ऐनको आधारमा स्थापना भएका हुन सोही अनुसार नै सञ्चालनमा रहनुपर्ने र एक आपसमा सहयोगको निरन्तरता अझ बढाउँदै जानुपर्ने राय राख्नुभएको थियो । गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा.नवराज देवकोटाले सबै विश्वविद्यालयमा फरक फरक किसिमको क्षमता भएकाले ज्ञानको आदानप्रदान गर्नुका साथै नेपाल सरकारबाट विश्वविद्यालयलाई सक्षम बनाउन थप आवश्यक पहल हुनुपर्ने बताउनुभयो । 

राजर्षिजनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमरप्रसाद यादवले सबै विश्वविद्यालयमा रहेको क्षमता आदानप्रदान गर्नुका साथै विद्यमान समस्याको व्यवस्थापनका लागि सबै मिलेर जानुपर्ने विचार व्यक्त गर्नुभयो । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. डा.विजु थपलियाले हाल खुलेका विश्वविद्यालयहरू सङ्घीय सरकारकै मातहतमा नै रहनुपर्ने र विश्वविद्यालयमा देखिएका समस्या समाधानका लागि सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो । 

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमले विश्वविद्यालयलाई क्षमतावान्हरूको केन्द्र र सक्षम जनशक्ति उत्पादनको केन्द्र बनाउन सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले विश्वविद्यालय निश्चित भूगोलमा मात्र सञ्चालन हुन्छ भन्ने नभई यसको दायरा आफ्नो क्षमतामा निर्भर हुने भएकोले अनुसन्धान र सहकार्यमा जोड दिनुभयो । 

योगमाया आयुर्वेद विश्वविद्यालयका अध्यक्ष डा.अर्जुनकुमार कार्कीले विश्वविद्यालयहरूमा समन्वय र सहकार्य आवश्यक रहेको र हाल जुन ऐनको आधारमा विश्वविद्यालयहरू खुलेका छन् सोही अवस्थामा रहिरहनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमको प्राविधिक सहयोग उप प्रा.पञ्चदेव भट्टले गर्नुभएको थियो भने सञ्चालन विश्वविद्यालय समन्वय समितिका संयोजक डा. दीपकराज जोशीले गर्नुभएको हो ।

Invitation-Letter-2081-5-2-(1)(1)-1723984735.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update