
भारतीय डाक्टर मौमिता देवनाथ र देशभरमा बाढी तथा पहिरोमा परी मृत्यु भएका व्यक्तिको शान्तिको लागि रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा दीप प्रज्वलन गरिएको छ । साउन २५ गते बलात्कारपछि हत्या गरिएकी भारतीय डाक्टर मौमिता सहित देशभरमा बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा खलङ्गाको कालिकास्थानमा दीप प्रज्वलन गरिएको हो ।
नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेविसंघ मुसिकोट नगरपालिका र रुकुमेली क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले संयुक्त रूपमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरेका हुन् । दीप प्रज्वलन गरिनुका साथै दिवङ्गतहरू प्रति चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको रुकुमेली क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सचिव सन्तोष खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहभागीहरूले मैनबत्ती बालेर दिवङ्गतहरूको सम्झना गर्नुका साथै श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला स्तरीय नेता, नेविसंघका नेता तथा कार्यकर्ता, स्ववियुका पदाधिकारी तथा सदस्यहरू, रुकुमेली क्याम्पसका विद्यार्थीहरू र सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।