उद्योग वाणिज्य सङ्घ बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको तदर्थ समिति गठन गरिएको छ । बुधवार रुकुम उद्योग वाणिज्य सङ्घको आयोजनामा पालिका स्तरीय तदर्थ समिति गठन गरिएको हो । ४ नम्बर वडाको छिनखेतमा आयोजना गरिएको उद्योग तथा व्यापारीहरूको समन्वयात्मक तथा छलफलको पहिलो भेलाबाट पालिका स्तरीय उद्योग वाणिज्य सङ्घको तदर्थ समिति गठन गरिएको रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार शशिराम रिजालको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति निर्माण गरिएको छ । जसको सचिवमा नरेन्द्र बुढाथोकी, कोषाध्यक्षमा सिता सुनार चयन हुनुभएको छ । सदस्यहरूमा खम्बु खत्री, शेरवीर विक, आदित्यकुमार मल्ल, मञ्जु दाहाललाई चयन गरिएको छ । त्यसैगरी वीरबहादुर पौडेल, प्रेम पुरी, शशिराम धिताल र सार्के खत्रीलाई पनि सदस्यमा चयन गरिएको रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष खड्काले जानकारी दिनुभयो । रुकुम उद्योग वाणिज्य सङ्घ सबै पालिकामा पुग्न नसक्ने भएकाले पालिकाको नेतृत्व गर्ने उद्देश्यले पालिकामा तदर्थ समिति निर्माण गरिएको उहाँको भनाई थियो ।
तदर्थ समितिले पालिकामा सञ्चालन भएका उद्योग व्यवसायीहरूका हकहितका लागि काम गर्ने छ । पालिकामा गठन गरिएको तदर्थ समितिलाई व्यवसाय सञ्चालन तथा कर सम्बन्धी केही दिनमा तालिम प्रदान समेत गरिने उद्योग वाणिज्य सङ्घ रुकुम पश्चिमले जनाएको छ । तदर्थ समितिले पालिकाको पहिलो अधिवेशन नहुन्जेलसम्म काम गर्ने छ ।
केही दिनभित्र सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिका पनि समन्वयात्मक तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने र पेसा व्यवसायलाई चलायमान बनाउने उद्देश्यले तदर्थ समिति निर्माण गरिएको उद्योग वाणिज्य सङ्घका महासचिव अनिल बुढाले जानकारी दिनुभयो । यस समन्वयात्मक कार्यक्रमले निजी क्षेत्रका उद्योग तथा व्यवसायीहरूलाई एकताबद्ध गर्ने र स्थानीय स्तरमा उत्पादन भएको वस्तुलाई बजारीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने महासचिव बुढाकाे विश्वास छ ।
रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बाँफिकोट गाउँपालिकाका पूर्व अध्यक्ष धर्मबहादुर केसी प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै २ नम्बर वडा अध्यक्ष प्रकाश खत्री, ७ नम्बर वडा अध्यक्ष नरबहादुर खत्री, ८ नम्बर वडा अध्यक्ष धनबहादुर खत्री, रुकुम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रविन्द्रकुमार विष्ट, दयाराम खत्री, महासचिव अनिल बुढा, कोषाध्यक्ष धनबहादुर ओली, उद्योग वाणिय सङ्घका कार्यालय प्रमुख हिरामणि बस्याल, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, व्यवसायी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
सङ्घका वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव रमेश खड्काले गर्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य सङ्घको आवश्यकता तथा महत्त्व, सङ्घले आफ्नो कार्यकालमा गरेका विभिन्न गतिविधि अब गर्नुपर्ने कामका बारेमा समेत जानकारी बनाएको थियो ।




1686475760.jpg)


-1759842583.jpg)