
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले रुकुम पश्चिमको सानिभेरी गाउँपालिका ४ मेघा वलिवाङ्गमा अवस्थित सानिभेरी माध्यमिक विद्यालयका डेढ सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । परिषद्को वार्षिक शैक्षिक सामग्री वितरण कार्यक्रम अन्तर्गत सानीभेरी माविका १ सय ५० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको परिषद्ले जनाएको छ ।
एक कार्यक्रमका बिच विद्यार्थीहरूलाई १ सय ५० वटा झोला, ३० वटा राम्रो अङ्ग्रेजी बोलचाल पुस्तिका, ४ सय ५० थान कापी र ४० थान टोपी प्रदान गरिएको छ । त्यस्तै वृहत् नेपाली, अङ्ग्रेजी शब्दकोश १ थान, कलम २ सय थान र ज्यामिति बक्स एक थान पनि प्रदान गरिएको परिषद्का गणेश जैसीले जानकारी दिनुभयो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर बुढाथोकी, विद्यालयका प्रधानाध्यापक नरेन्द्रप्रकाश ओली, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका गणेश जैसी लगायतको सहभागिता रहेको थियो । परिषद्ले बर्सेनि देशका विभिन्न ठाउँका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको छ । यो वर्ष रुकुम पश्चिम सहित देशका १६ वटा जिल्लाका २५ सय २५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै छ । यो विद्यालय भूकम्प प्रभावित विद्यालय समेत हो ।