
रुकुम पूर्वका यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । मध्यपहाडी लोक मार्गको रुकुम पूर्व खण्ड अन्तर्गत सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित कुरेपानीमा झरेको पहिरो सरकारले पन्छ्याउनुको साटो बेवास्ता गरेको भन्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका थिए । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले सडकमा झरेको पहिरो हटाए पछि आन्दोलन फिर्ता लिएको रुकुमकोट यातायात प्रालिका अध्यक्ष लक्ष्मण घर्तीले जानकारी दिनुभयो । सडकमा खसेको पहिरो हटाए पछि अवरुद्ध सडक खण्ड पनि सुचारु भएको छ ।
सडक अवरुद्ध हुँदा आज बिहान देखि रुकुमकोटबाट रुकुम पश्चिम, दाङ, नेपालगन्ज, काठमाडौँ तथा रुकुम पश्चिम देखि रुकुम पूर्व हुँदै बागलुङ पोखरा काठमाडौँ जाने गाडी ठप्प भएका थिए । यातायात व्यवसायीले जिल्ला प्रशासन कार्यालयको गेटमा गाडी राेकेर आन्दोलन गरेका थिए । जसका कारण जिल्ला प्रशासन कार्यालय अगाडि बिहीबार बिहान देखि दिउँसोसम्म गाडीको लाम लागेको थियो । आन्दोलनरत जिल्लाका दुई यातायात व्यवसायी समितिले आन्दोलन फिर्ता गरेको बताएका छन् ।
सडक सुचारु भए सँगै रुकुमकोट यातायात सेवा प्रालि र रुकुमकोट सिस्ने यातायात प्रालिले गाडी चलाएका छन् । यस अघि पनि कुरेपानीमा झरेको पहिरो तीन पटक यातायात व्यवसायी आफैले पन्छ्याएका थिए । आगामी दिनमा पनि सरकारवालाले सडकमा झरेको पहिरो पन्छ्याउन बेवास्ता गरेमा थप संघर्षका कार्यक्रम गर्ने रुकुमकोट यातायात सेवा प्रालिका अध्यक्ष घर्तीले बताउनुभयो । यस क्षेत्रको कुरेपानी तथा रानीकोट र रुकुम पश्चिमको मुसिकोट नगरपालिका ८ स्थित किटिनीमा पहिरोका कारण यात्रुले सास्ती पाउने गरेका छन् ।