मध्यपहाडि लोकमार्ग अन्तर्गत रुकुम पश्चिम र जाजरकोट जोड्ने भेरी पुलको पुनः अध्ययन हुने भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकालाई जोड्ने भेरी नदी पुलको पुनः अध्ययन हुने भएको हो । यस अघिको डिजाइन स्टामेट अनुसार केबल स्पेयड सस्पेन्सन ब्रिज बन्न समस्या भएपछि पुलको पुनः अध्ययन गर्न लागिएको मध्यपहाडि लोकमार्ग आयोजनाका कायममुकायम निर्देशक रविन्द्रलाल दासले जानकारी दिनुभयो ।
यसका लागि पुलचोक इन्जिनियरिङ क्याम्पसको टोली आउन लागेको उहाँले बताउनुभयो । मध्यपहाडी आयोजना कार्यालयको माथिल्लो टिमसँग समेत पुल निर्माणका बारेमा गम्भीर छलफल भएको र पुलको सम्भाव्यता पुनः अध्ययन गर्ने निष्कर्षमा पुगिएको उहाँको भनाई छ । अहिलेकै स्टामेट अनुसार पुल बन्न सम्भव छ वा स्टामेटलाई चेन्ज गरेर ट्रस्ट ब्रिजमा काम गर्ने भन्नेमा अध्ययन टोलीको प्रतिवेदन अनुसार अघि बढ्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
अबको १८ महिनामा जसरी पनि पुल निर्माण सम्पन्न हुने उहाँको भनाई छ । ट्रस्ट ब्रिज बनाउन धेरै समय नलाग्ने भएकोले सम्भाव्यता अध्ययनपछि तत्कालै काम सुरु गरेर १८ महिनामा काम सक्ने उहाँले बताउनुभयो ।
‘हामीले सोचिरहेको ट्रस्ट ब्रिज हो, अध्ययन टोलीले ट्रस्ट ब्रिजको सम्भावना देखायो भने हामी त्यसमा अघि बढ्छौँ, ट्रस्ट ब्रिजका लागि आवश्यक सामग्री नेपालमै बन्छन्, बाहिरबाट आयात गर्नुपर्ने अवस्था छैन, अध्ययन टोलीले भन्यो भने तत्कालै काम सुरु हुन्छ, सामान बन्न समय लाग्ने हो, सामान बनेर निर्माण स्थलमा ल्याइपुर्याइयो भने जडानको काम त २, ३ महिनामै सकिन्छ, उहाँले भन्नुभयो ।’ भेरी पुल माथि बन्ने भनेको ९८ मिटर लामो पुल वर्षौँ देखि अलपत्र अवस्थामा छ । केही काम गरिएको अवस्थामा पुल अलपत्र परेको छ ।
पुल निर्माणका लागि २०६९ सालमा ठेक्का लागेको थियो । वाइपि कन्स्ट्रक्सन प्रालि ललितपुरले १३ करोड ४७ लाखमा ठेक्का लिएको थियो । तर उक्त कम्पनीले करिब ३० प्रतिशत मात्र काम गरेर काम अलपत्र पारेको छ । उक्त कम्पनीसँगको ठेक्का आयोजनाले तोडिसकेको छ । त्यसपछि दुई पटक टेन्डर आह्वान भइसकेको छ । एक पटक कसैले पनि आवेदन नदिएको र एक पटक एउटा निर्माण कम्पनीले आवेदन दिए पनि मापदण्ड नपुगेपछि ठेक्का लाग्न सकेन ।
यसैबिच प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकर, राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय, मध्यपहाडी आयोजना कार्यालयका का.मु. निर्देशक रविन्द्रलाल दास, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी सहितको टोलीले पुल निर्माण स्थलको अनुगमन गरेको छ । जस क्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्माले पुल निर्माण अलपत्र पर्दा दुई जिल्लाका हजारौँ नागरिक प्रत्यक्ष रूपमा मारमा परेको बताउनुभयो । आफूले पुल निर्माणका लागि निरन्तर पहल गरे पनि पुल निर्माण हुन नसकेको उहाँको भनाई छ ।
पुल निर्माणका लागि बजेटको कुनै अभाव नहुँदा पनि कहिले निर्माण व्यवसायीको लापरबाही त कहिले प्राविधिक समस्याका कारण पुल निर्माण अलपत्र पर्दा नागरिकले दुःख भोग्न बाध्य भएको उहाँले बताउनुभयो । ‘म प्रत्येक हप्ता आयोजना कार्यालयमा पुगेर पुल निर्माणका लागि दबाब दिइरहेको छु, दबाबकै कारण ठेक्का रद्द भयो, दुई पटक टेन्डर आह्वान भयो तर निर्माण व्यवसायीले पुलको डिजाइन स्टामेट हेरेर आँट गर्नुभएको छैन, अब पुलको स्टामेट चेन्ज गरेर भए पनि पुल निर्माण गर्नुपर्छ म यसका लागि लागिरहेको छु,’ उहाँले भन्नुभयो ।
राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले पनि आफू राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइसकेपछि यो पुल सहित जिल्लामा अलपत्र अवस्थामा रहेका विकास निर्माणका आयोजनाको पूर्णताका लागि पहल गरिरहेको बताउनुभयो । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडि लोकमार्गमै पुल निर्माण अलपत्र पर्नु दुःखद भएको भन्दै उहाँले यो पुल तत्कालै निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै संघीय जनप्रतिनिधिहरूले साझा मुद्दा बनाएर अलपत्र अवस्थामा रहेको विकास निर्माणको पूर्णताका लागि दबाब दिइरहेको समेत उहाँले बताउनुभयो । त्यस क्रममा स्थानीय जनप्रतिनिधिहरूले पुल निर्माण कार्य तत्काल अघि बढाउन दबाब दिएका थिए । यसअघि पनि पटक पटक अनुगमन भएको र तत्कालै काम सुरु गर्ने आश्वासन आएको तर काम नभएको भन्दै जनप्रतिनिधि तथा स्थानीयले काम सुरु नहुँदासम्म पुल बन्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका थिए ।