नेपालको संविधान २०७२ ले शिक्षालाई नैसर्गिक अधिकारको रूपमा व्याख्या गरेको छ । माध्यमिक शिक्षासम्म निःशुल्क व्यवस्था गरेको छ । तर, पनि नेपालका धेरै बालबालिकाहरु अहिले पनि विद्यालय भन्दा बाहिर रहेका छन् । जबसम्म शिक्षालाई अनिवार्य गरिँदैन तबसम्म निःशुल्क शिक्षा प्रभावकारी हुँदैन । त्यसैले उच्च माध्यमिक तहसम्म शिक्षालाई निःशुल्क र अनिवार्य बनाउन अनेरास्ववियुले सरकारलाई दबाब दिनु पर्छ ।
अन्य विद्यार्थी सङ्गठनसँग साङ्गठनिक र कार्यगत एकता
विगतदेखि नै मुलुकको शैक्षिक र राजनैतिक रूपान्तरणका लागि भएका संघर्षहरुमा अन्य विद्यार्थी सङ्गठनहरूलाई पनि गोलबन्द गरी अनेरास्ववियुको नेतृत्वमा आन्दोलनको मोर्चामा होमिएका थिए । तर आज विद्यार्थी सङ्गठनहरूमा विभाजन आएकाले शैक्षिक आन्दोलन आशातीत ढङ्गले सञ्चालन हुन सकेको छैन ।
त्यसैले शैक्षिक रूपान्तरणका लागि वृहत् विद्यार्थी एकता हुन जरुरी छ । यसको पहलकदमी अनेरास्ववियुले गर्नु पर्दछ । विचार मिल्ने सङ्गठनहरूसँग साङ्गठनिक एकता र मुद्दा मिल्ने सङ्गठनहरूसँग कार्यगत एकता गरी अनेरास्ववियुले आफ्नो नेतृत्वमा वृहत् विद्यार्थी शक्तिको निर्माण गर्नु आवश्यक छ ।
समाजवादी शिक्षा प्राप्तिका लागि संघर्ष
अनेरास्ववियुले आफ्नो स्थापनाकालदेखि नै समाजवादी शिक्षा प्राप्तिलाई आफ्नो प्रमुख लक्ष्य बनाएर साङ्गठनिक क्रियाकलाप गरिहरेको छ । पहिले विशिष्ट परिस्थितिमा अनेरास्ववियुले शैक्षिक भन्दा राजनैतिक गतिविधि गर्नु परेको थियो । त्यही कारणले समाजवादी शिक्षा प्राप्तिका लागि अनेरास्ववियुले खास पहल गर्न सकेन । यो बिचमा प्रतिक्रियावादी शक्तिले समाजवादी शिक्षाको भ्रामक प्रचार गरी आम जनतामा गलत सन्देश प्रवाह गरेको छ ।
अब अनेरास्ववियुले आम विद्यार्थी तथा अभिभावकको बिचमा गएर समाजवादी शिक्षाको महत्त्व बुझाउने, सरोकारवाला पक्षसँग समाजवाद शिक्षा लागू गराउन विचार, विमर्ष र छलफल गर्ने तथा समाजवादी शिक्षा प्रणाली लागू गर्न वर्तमान शिक्षा ऐनको संशोधन तथा समाजवादी शिक्षा प्रणाली कार्यान्वयनका लागि सरकार तथा सम्बन्धित पक्षलाई दबाब दिने तथा त्यसका लागि संघर्ष गर्न अनेरास्ववियु तयार रहनु पर्छ ।
अबको अनेरास्ववियुले यी कार्यभारहरू पूरा गर्न नसक्ने हो भने विगतमा निर्माण गरेको गौरवमय स्वर्णिम इतिहासलाई मात्र रटेर आम विद्यार्थी र विद्यार्थी सङ्गठनहरूको नेतृत्व गर्न सक्दैन र नेता बन्न सक्दैन । साथै अनेरास्ववियुको भविष्य पनि अनिश्चित र अन्धकार हुनेछ । आम सरोकारवालाहरूमा अनेरास्ववियु प्रतिको आस्था र विश्वास घट्ने छ । जसले गर्दा अनेरास्ववियुको आयु र औचित्य दीर्घायु हुन सक्दैन, हुँदैन ।
लेखक नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु रूकुम पश्चिमका अध्यक्ष हुन् ।



-1759842583.jpg)