
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ को जनप्रिय मावि दादिङबाट शैक्षिक भ्रमणमा आएका शिक्षक, अभिभावक तथा विद्यार्थी चढेको लु १ ज २४७० नम्बरको जिप बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को सालघारीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घाइते हुनेमा सिस्ने गाउँपालिका ४ दादिङकी १५ बर्सिया यशोधा घर्ती, सोही ठाउँकी ४१ बर्सिया रामकुमारी बुढा, ५० वर्षीय नरहरि पुन, ४२ वर्षीय गणबहादुर बिक र ३२ बर्सिया समीक्षा घर्ती रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।
घाइते मध्ये यशोधाको टाउको, रामकुमारीको बायाँ पाखुरा, कम्मर र खुट्टा, नरहरिको दाँत, दुवै खुट्टा र कान, गणबहादुरको दाँत, बायाँ खुँडा र गाला तथा समीक्षाको टाउकोमा सामान्य चोट लागेको र सबैको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार घाइतेहरूको छिनखेतमा रहेको कुसारी मेडिकलमा उपचार चलिरहेको छ ।
जिप ओरालोमा ब्रेक फेल भएर सडकमै पल्टिएको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । उक्त गाडी अभिभावक, विद्यार्थी तथा शिक्षकलाई ल्याएर बाँफिकोट गाउँपालिका ३ र ५ मा पर्ने स्यार्पू ताल पुगेर फर्किदै गर्दा दुर्घटनामा परेको हो ।