
नेपाल हिमाल, पहाड र तराईको अनुपम सौन्दर्यले सजिएको मुलुक। प्राकृतिक सम्पदाको दृष्टिले धनी, युवा जनशक्तिको हिसाबले बलियो र सांस्कृतिक विविधताको हिसाबले अद्वितीय देश । तर, यस्ता अपार सम्भावनाहरू बोकेको देश आज पनि "अविकसित" को श्रेणीमै किन अड्किएको छ ?
यो प्रश्न केवल आजको होइन, दशकौँदेखि गरिँदै आएको छ । अझ गम्भीर र पीडादायक कुरा के भने जब हामीसँग सम्पत्ति पनि छ, सामर्थ्य पनि छ, र जनशक्ति पनि छ, तब हामी किन विश्वमा सबभन्दा गरिब देशहरू मध्ये गनिन्छौँ ? किन हजारौँ युवा हरेक दिन खाडी, कोरिया, जापान, अस्ट्रेलिया र अमेरिका जान बाध्य छन् ? किन विकास केवल भाषण र घोषणामा सीमित हुन्छ ?
यसको उत्तर केवल एक वटा कारणले दिइन सक्दैन । नेपाल "किन बनेन" भन्ने प्रश्नको उत्तर राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक र नैतिक क्षेत्रहरूमा लुकेको छ। अब हामी ती पक्षहरूलाई विस्तृत रूपमा विश्लेषण गर्छौँ ।
१. राजनीतिक अस्थिरता र नेतृत्वको अकर्मण्यता
नेपालको सबैभन्दा ठुलो दुर्भाग्य भनेको राजनीतिक नेतृत्वको चरम असफलता हो । २०४६ सालको परिवर्तनपछि नेपालले बहुदलीय लोकतन्त्र पायो । त्यसपछि जनताले अनेकौँ परिवर्तन देखे माओवादी द्वन्द्व, राजतन्त्रको अन्त्य, संविधान निर्माण, संघीयता र गणतन्त्र । तर परिवर्तन केवल संरचनामा भयो, संस्कारमा भएन । नेतृत्व पुरानै शैली, सोच र स्वार्थमा अड्किए ।
सरकारहरू लामो समय टिक्दैनन्, नीति निरन्तरता हुँदैन । विकास योजनाहरू घोषणा हुन्छन्, तर कार्यान्वयन हुँदैन । सत्ता प्राप्ति नै अन्तिम लक्ष्य बनेको छ, सेवा होइन ।
नेपालमा सरकार परिवर्तनको औसत अवधि करिब ९ महिना मात्रै छ । यस्तो अस्थिर वातावरणमा देश बनाउने दीर्घकालीन योजना कसरी बन्ने ?
२. भ्रष्टाचार र नातावादको जालो
नेपालको अर्को गहिरो रोग भ्रष्टाचार हो । राष्ट्रिय योजना आयोग होस् या स्थानीय तहदेखि माथिल्लो तहसम्म भ्रष्टाचार जरा गाडेर बसेको छ ।
राजनीतिज्ञहरूले ठेक्का, नियुक्ति र बजेट बाँडफाँडमा आफ्ना नातेदार, कार्यकर्ता र आसेपासेहरूलाई प्राथमिकता दिन्छन् । परिणामस्वरूप योग्य र इमानदार नागरिकहरू बिचल्लीमा परेका छन् ।
नेपालको कैयौँ योजनाहरू ५०% भन्दा बढी खर्च भए पनि अधुरा हुन्छन्, किनभने बजेट लुटिन्छ । प्रत्येक सरकारको "कमाइको मौसम"जस्तो काम गर्ने प्रवृत्तिले आम नागरिकमा राज्यप्रतिको विश्वास हराउँदै गएको छ ।
३. शिक्षा प्रणालीको विफलता र युवा पलायन
नेपालको शिक्षा प्रणाली पनि विकासमा बाधक बनेको छ । आजको शिक्षाले सीप, समस्या समाधान क्षमता, र उद्यमशीलता सिकाउँदैन, केवल किताबी ज्ञानमा सीमित रहन्छ ।
विगत दुई दशकमा करिब ५० लाखभन्दा बढी युवा बिदेसिएका छन् । उनीहरू यहाँ रोजगारी र अवसर नपाएर परदेश जान बाध्य भएका हुन् । शिक्षित युवाहरूले नेपालमा भविष्य देख्दैनन्, र सरकार तिनलाई फर्काउन कुनै प्रयास गर्न सक्दैन ।
रेमिट्यान्सले अर्थतन्त्र टेकेको भए पनि मानव शक्तिको पलायनले राष्ट्रको मेरुदण्ड भाँचिएको छ । विदेशी श्रममा उभिएको अर्थतन्त्र कहिल्यै दिगो हुँदैन ।
नेपालको सबैभन्दा ठुलो दुर्भाग्य भनेको राजनीतिक नेतृत्वको चरम असफलता हो । २०४६ सालको परिवर्तनपछि नेपालले बहुदलीय लोकतन्त्र पायो । त्यसपछि जनताले अनेकौँ परिवर्तन देखे माओवादी द्वन्द्व, राजतन्त्रको अन्त्य, संविधान निर्माण, संघीयता र गणतन्त्र । तर परिवर्तन केवल संरचनामा भयो, संस्कारमा भएन । नेतृत्व पुरानै शैली, सोच र स्वार्थमा अड्किए ।
४. आर्थिक परनिर्भरता र आयातमुखी प्रवृत्ति
नेपालमा उत्पादनभन्दा बढी आयात हुन्छ । कृषि प्रधान देश भनिए पनि हामी भारतबाट तरकारी, चीनबाट लत्ताकपडा र मलेसियाबाट काठ आयात गर्छौँ ।
सरकारले घरेलु उद्योगलाई संरक्षण र प्रोत्साहन दिन सकिरहेको छैन। लगानीमैत्री वातावरण छैन, नीति पारदर्शी छैन र प्रशासनिक झन्झट धेरै छन् । यस्तो अवस्थामा निजी क्षेत्रको योगदान कमजोर भइरहन्छ ।
त्यसमाथि, अर्थतन्त्रलाई चलाउन विदेशी अनुदान र ऋणको भर पर्ने परिपाटी विकासमुखी होइन, भिख माग्ने प्रणाली हो।
५. प्रशासनिक ढिलासुस्ती र राजनीतिक हस्तक्षेप
नेपालमा योजना बनाइन्छ तर कार्यान्वयनको प्रणाली कमजोर छ। कागजमा बनाइएका सडक, पुल, अस्पतालहरू वर्षौँसम्म निर्माण हुँदैनन् ।
प्रशासनिक संयन्त्रमा पारदर्शिता छैन । नियुक्ति, सरुवा, बजेट बाँडफाँड सबैमा राजनीतिक दबाब हाबी हुन्छ । नीतिगत निर्णयहरू पनि राजनीतिक स्वार्थमा गरिन्छ, जनताको हितमा होइन ।
६. सामाजिक विघटन र पहिचानको राजनीति
संघीयताको नाममा प्रदेशहरू बनाइए, तर तिनको क्षमता अभावले जनता झन् निराश भएका छन् । जातीय र क्षेत्रीय पहिचानको नाममा राजनीति गरिँदै छ, जसले सामाजिक सद्भावमा दरार पैदा गरेको छ ।
राजनीतिक दलहरूले मत बटुल्न जात, धर्म र क्षेत्रलाई प्रयोग गर्छन्, जसले राष्ट्रिय एकता कमजोर बनाएको छ ।
७. नैतिकता र नागरिक जिम्मेवारीको अभाव
देश बन्न केवल सरकारको जिम्मा हुँदैन । नागरिकको पनि भूमिका हुन्छ । तर हामीमध्ये धेरैले कर तिर्दैनौँ, नियम पालना गर्दैनौँ र सरकारी सम्पत्तिको माया गर्दैनौँ ।
हामी नेता चुट्न जान्छौँ, तर चुनावमा तिनै भ्रष्टलाई जिताउँछौँ । नागरिकको नैतिकता कमजोर हुँदा लोकतन्त्र पनि कमजोर हुन्छ।
निष्कर्ष: अब के गर्ने ?
नेपाल बन्न न सक्नुको पछाडि धेरै पक्ष छन्-असक्षम नेतृत्व, भ्रष्ट व्यवस्था, कमजोर नीति, परनिर्भर अर्थतन्त्र, शिक्षा र रोजगारको संकट, र नागरिकको उदासीनता ।
तर अब पनि ढिला भइसकेको छैन। अब हामीले आत्म समीक्षा गर्नुपर्छ ।
राजनीति अब सेवा बन्नुपर्छ, सत्ता होइन ।
जनताको करको पैसा जनतालाई फिर्ता जानुपर्छ, नेता र दलाललाई होइन ।
शिक्षा व्यवहारिक हुनुपर्छ, युवा स्वदेशमै बस्न सक्ने बनाइन्छ ।
उद्योग, कृषि र पर्यटनमा लगानी गरेर आत्मनिर्भर अर्थतन्त्र बनाइनुपर्छ ।
संघीयता कार्यान्वयनमा इमानदार र सक्षम नेतृत्व आउनुपर्छ।
र सबैभन्दा मुख्य, नागरिक सचेत, उत्तरदायी र सक्रिय बन्नुपर्छ ।
नेपाल बन्छ र, जब नेतृत्व बदलिन्छ, सोच बदलिन्छ र हामी सबै मिलेर "देश पहिलो " भन्ने भावना बोकेर अघि बढ्छौँ ।
लेखकः मुसिकाेट नगरपालिका १ काे सरस्वती मावि सल्लेमा अध्यापनरत् हुनुहुन्छ ।