Kakhara सबैको खबर सम्पूर्ण खबर
युवा मैत्री बजेट नआउँदा एक युवाको सरकार प्रतिको आक्रोश

म एक साधारण नेपाली युवा हुँ । सपनाहरू बोकेको, सङ्घर्षमा डुबेको। देशको माटोलाई माया गर्ने, यहीँ केही गरौँ भन्ने अठोट लिएको। तर आज, मेरो आक्रोश चरममा छ। किनकि म देशको सरकारसँग निराश छु । सरकार हरेक चुनावमा युवालाई प्राथमिकता दिने भन्छ, तर कार्यान्वयनमा हामी सधैँ बिर्सिन्छौँ । हामी शिक्षित छौँ, सीपयुक्त बन्न चाहन्छौँ, तर हाम्रो लागि न त रोजगारी छ, न अवसर, न त उद्यमशीलताको वातावरण । अनि सरकारले हाम्रा समस्या समाधान गर्ने ठाउँमा, आफ्ना सुविधा बढाउने बजेट ल्याउँछ। युवाहरू बिदेसिन बाध्य छन् शिक्षित, सक्षम, ऊर्जाशील युवा जनशक्ति हराउँदै गएको छ, तर सरकार मौन छ ।

हामीले सोचेका थियौँ, नयाँ नेपालमा हाम्रो भविष्य सुरक्षित हुनेछ, तर अब बुझिएको छ नीति बनाउने टेबुलमा हामी कहिल्यै थिएनौँ । मेरो प्रश्न छ सरकारलाई के हामी केवल चुनाव जिताउने साधन मात्र हौँ ? के हाम्रो सपना, परिश्रम, र क्षमताको कुनै मूल्य छैन ? देश विकास चाहन्छ भने, युवालाई केन्द्रमा राख्नुपर्छ । तर सरकारको नजरमा युवा अझै पनि भाषणको विषय मात्र छ। अब समय आएको छ जब हामी मौन बस्न सक्दैनौँ । यदि सरकारले हामीलाई सुन्दैन भने, हामी आफै बोल्नेछौँ । सडकबाट संसद्सम्म हाम्रो आवाज गुन्जिनेछ। किनभने यो देश हाम्रो पनि हो र हामी यसका समर्पित सन्तान हौँ, चुप लाग्ने होइन, परिवर्तन ल्याउने पुस्ता हौँ ।

लेखक नेपाल विद्यार्थी सङ्घ रुकुम पश्चिम मुसिकोट नगर समिति सभापति हुनुहुन्छ ।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update