Kakhara सबैको खबर सम्पूर्ण खबर
रास्वपाले रुकुम पश्चिममा साउन २ बाट हस्ताक्षर अभियान चलाउने, ३० हजार हस्ताक्षर सङ्कलन गर्ने लक्ष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुकुम पश्चिममा पनि पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ । साउन २ गतेबाट जिल्ला भरमा हस्ताक्षर अभियान सञ्चालन हुने रास्वपा रुकुम पश्चिमले जनाएको छ । जिल्लाका सबै ६ वटै पालिकाका वडासम्मै हस्ताक्षर अभियान सञ्चालन हुने रास्वपा रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले जानकारी दिनुभयो ।

अन्य ठाउँमा १ साता हस्ताक्षर अभियान सञ्चालन हुने र सदरमुकाममा भने २, ३ सातासम्म अभियान सञ्चालन हुने उहाँले बताउनुभयो । जिल्लाबाट करिब ३० हजार हस्ताक्षर सङ्कलन गर्ने लक्ष राखिएको उहाँको भनाई छ । रास्वपाले पार्टी स्थापना दिवसका अवसरमा असार ७ गते काठमाडौँको माइतीघरमा एक कार्यक्रमको आयोजना गर्दै पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको थियो ।

तर जिल्लासम्म त्यो अभियान पुग्न सकेको थिएन । जिल्लाको चौरजहारीमा केही दिन हस्ताक्षर अभियान सञ्चालन गरिए पनि रास्वपाले जिल्ला भरमा भने साउन २ गतेबाट अभियान चलाउन लागेको हो । यसका लागि खटिने टोली तयार पारिरहेको रास्वपा रुकुम पश्चिमले जनाएको छ । रास्वपा सभापति सहकारी ठगी मुद्दामा कारागारमा रहनुभएको छ । यसलाई रास्वपाले राजनीतिक प्रतिशोधका रूपमा अर्थ्याउँदै आएको छ । 

 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update