
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा दुई वटा जिप ठोक्किएका छन् । वडा नम्बर ६ खारा राङटे स्थित राप्ती राजमार्गमा फरक फरक दिशा तर्फ गइरहेका दुई वटा जिप ठोक्किएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
आज बिहान ८ः३० बजेको समयमा झुल्नेटाबाट खलङ्गा तर्फ आउँदै गरेको ग १ ज ७८४७ नम्बरको बोलेरो जिप र विपरीत दिशा तर्फ जाँदै गरेकाे बा प्र ०१–०२६ च ५२३८ नम्बरको जिप एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।
दुर्घटनामा परी तीन जना घाइते भएका छन् । घाइते हुनेमा त्रिबेणी गाउँपालिका ३ का ४६ बर्सिया निर्मला बिक, साेही ठाउँका २१ बर्सिया लोकमाया बिक, ५० बर्सिया गौमता खड्का रहनुभएकाे छ । निर्मलाकाे दाहिने खुट्टा र टाउकाेमा, लाेकमायाकाे दाहिने खुट्टामा तथा गाैमताकाे घाटीमा चोट लागेकाे र अवस्था सामान्य रहेकाे बताइएकाे छ । उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
झुल्नेटाबाट खलङ्गा तर्फ आउँदै गरेको जिप सल्यान दार्मा गाउँपालिका ६ का २९ को भूपेन्द्र बुढाथोकीले र विपरीत दिशा तर्फ गइरहेको जिप गोरखा गण्डकी गाउँपालिका ७ का २६ वर्षीय विनोद श्रेष्ठले चलाएको प्रहरी निरीक्षक पाठकले बताउनुभयो ।