
रुकुम पश्चिममा दसैँ अघि नै नयाँ यातायात भाडा दर कायम गरिने भएको छ । आज बसेको जिल्ला यातायात व्यवस्थापन समितिले नयाँ भाडा दर कायम गर्न समिति गठन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो । उक्त समितिले विस्तृत अध्ययन गरी नयाँ भाडा दर निर्धारण गर्ने छ ।
जिल्ला भित्रका विभिन्न आन्तरिक सडकमा चल्ने पुराना सडक रुटहरूमा पछिल्लो समयमा भएको सडक स्तरोन्नतिसँगै पूर्व निर्धारित भाडा दरलाई परिमार्जन गर्नुपर्ने तथा नयाँ सडक रुटहरूमा सञ्चालित सवारी साधनहरूको भाडा दर निर्धारण गर्न आवश्यक देखिएको हुँदा सो विषयमा विस्तृत थप अध्ययन गरी नयाँ भाडा दर निर्धारण गर्न सहायक प्रमुख जिल्ला अधिकारी ओलीको संयोजकत्वमा समिति निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जानकारी दिनुभयो ।
उक्त समितिमा यातायात व्यवस्था तथा सेवा कार्यालय, सडक डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्लामा सञ्चालित यातायात व्यवसायी समिति सदस्य रहेका छन् । उक्त समितिलाई २ दिनको समय दिइएको छ । भोली नै नयाँ भाडा दर कायम गरेर लागु गरिने प्रमुख जिल्ला अधिकारी थानीको भनाई छ ।
चाडपर्वहरू सुरु भइसकेकोले छिटो नयाँ भाडा दर कायम गरी पूर्ण कार्यान्वयन गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार दसैँ अघि नै जिल्लामा सञ्चालित सबै सडकमा चल्ने सवारी साधनका लागि नयाँ भाडा दर तोकिने छ । यसअघि भएका निर्णयहरू कार्यान्वयन नभएको गुनासो आइरहेकोले अब भने पूर्ण कार्यान्वयनमा कडाइ गरिने उहाँले बताउनुभयो ।
यसबारेमा जिल्लाका यातायात व्यवसायी समेत सहमत भएको उहाँको भनाई छ । जिल्लामा गत असारमा मात्र नयाँ भाडा दर कायम गरिएको थियो । २०७८ साल पछि गत असारमा १० प्रतिशत नबढ्ने गरी नयाँ भाडा दर कायम गरिएको थियो । तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी संयोजकत्वको समितिले गत वर्षको मङ्सिर २ गते प्रस्ताव गरे अनुसार असारमा यातायात भाडा दर समायोजन गरिएको थियो ।
यसैबिच आज बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले दसैँ र तिहारका लागि नागरिकलाई प्रभावकारी यातायात सुविधा पुर्याउन यातायात व्यवसायीहरूले आ–आफ्ना सवारी साधनहरू राम्रो अवस्थामा राखी सञ्चालन गर्ने निर्णय गरेको छ ।