
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ४ गोतामकोटमा विविध खेलकुद प्रतियोगिता हुने भएका छन् । ३५ औँ पाँच पूर्णिमा बगेनाह मेलाको अवसरमा महिला पुरुष भलिबल, पुरुष डबल ब्याडमिन्टन, स्लो बाइक रेस र पुरुष दौड छेलो प्रतियोगिता आयोजना गरिएको छ ।
३५ औँ पाँच पूर्णिमा मेला आयोजक समितिले खेलकुद सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । पुरुष भलिबलको विजेताले १ लाख ५३ हजार पुरस्कार पाउँदा उप विजेताले १ लाख १ हजार पुरस्कार पाउने आयोजक समितिका सचिव गोविन्दकुमार खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुरुष भलिबलमा तृतीय स्थान प्राप्त गर्नेले नगद ५१ हजार पुरस्कार पाउने छ । दर्ता शुल्क १० हजार तोकिएको छ । महिला भलिबल तर्फ विजेताले ६० हजार ५ सय पाउँदा उप विजेताले ४५ हजार ५ सय र तृतीय हुने टिमले ३० हजार ५ सय नगद पुरस्कार पाउने खड्काले बताउनुभयो ।
महिला भलिबल तर्फ दर्ता शुल्क ५ हजार कायम गरिएको छ । पुरुष ब्याडमिन्टनको प्रथम पुरस्कार ३५ हजार र द्वितीय पुरस्कार २५ हजार तथा दर्ता शुल्क २५ सय तोकिएको छ । स्लो बाइक रेसको पुरस्कार १० हजार राखिएकामा पुरुष दौड छेलोको प्रथम, द्वितीय र तृतीयका लागि क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
पुरस्कारमा २५ प्रतिशत कर कटौती गरिने छ भने भलिबल खेल शुद्ध वडा स्तरीय रहेकोमा वडा भन्दा बाहिरका तीन जना खेलाडी राख्न पाइने बताइएको छ । पुरुष ब्याडमिन्टन शुद्ध वडा स्तरीय हुने आयोजकको भनाई छ । साथै मेलामा सांस्कृतिक झाँकी तथा स्थानीय नाचलाई प्राथमिकता दिइने मेला आयोजक समितिले जनाएको छ ।