Kakhara सबैको खबर सम्पूर्ण खबर
केशव रावल रुकुम पूर्वबाट १५ दिन पैदल हिँडेर काठमाडौँ पुगे
पैदल यात्रा गरेर काठमाडाैँ पुग्नुभएका युवा नेता रावललाई स्वागत गर्दै पार्टी संयाेजक प्रचण्ड ।

नेपाली कम्युनिस्ट पार्टी नेकपाका युवा नेता केशव रावल रुकुम पूर्वबाट पैदल यात्रा गरेर १५ औँ दिनमा आज काठमाडौँ पुग्नुभएको छ । आफ्नो गाउँ सिस्ने गाउँपालिका ८ भुरुंगाबाट जनयुद्धका सहिद दौलतराम घर्तीको स्मृति दिवसको अवसरमा पुस १ गते यात्रा सुरु गर्न भएका रावलको पैदल यात्रा आज काठमाडौँ पेरिसडाँडास्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा पुगेर टुङ्गिएको हो ।

राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि दबाब दिन पैदल यात्रा गरेको रावलले बताउनुभयो । राजनीतिक परिवर्तनहरू हुँदा पनि जनताको जीवनस्तर परिवर्तन हुन नसकेको अवस्थामा समान विकास, राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि दबाब सिर्जना गर्नु आफ्नो यात्राको उद्देश्य रहेको उहाँले बताउनुभयो । आफ्नो यात्राको उद्देश्य सबै कम्युनिस्ट शक्तिको एकताका लागि दबाब सिर्जना गर्नु समेत रहेको उहाँको भनाई छ ।

१५ दिनको पैदल यात्रापछि काठमाडौँ पुग्नुभएका रावललाई पार्टी कार्यालय पेरिसडाँडामा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक माधवकुमार नेपाल सहितका नेता तथा कार्यकर्ताले स्वागत गर्दै धन्यवाद दिएका थिए । रावलको सम्मान र स्वागतमा आज पेरिसडाँडामा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा युवा नेता रावलले आफूले यात्राका क्रममा भोगेका अनुभव र प्राप्त सुझावहरू राख्नुभएको थियो ।

आफ्नो यात्रा उत्साहपूर्ण रहेको उहाँले बताउनुभयो । ‘रुकुमबाट पैदल हिँडेर यहाँसम्म पुग्ने कुरा सजिलो त थिएन, तर बाटोमा पाएको मायाले मलाई हौसला प्रदान गर्‍यो र यात्रा सहज बनाउन सहयोग गर्‍यो,’ उहाँले भन्नुभयो । त्यस क्रममा उहाँले दुर्गममा जनताले भोगिरहेका समस्या र असमान विकासका कारण दुर्गमले भोगेको जटिलताका बारेमा पार्टी नेतृत्वको ध्यानाकर्षण समेत गराउनुभएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update