Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा निर्वाचन प्रहरीका लागि ४ दिनमा ६२३ जनाको आवेदन 

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षार्थ निर्वाचन प्रहरीका लागि रुकुम पश्चिममा ४ दिनमा ६ सय २३ जनाको आवेदन परेको छ । पुस २५ गते आवेदन खुला भएकामा ४ दिन अर्थात् आजसम्म जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलमा ६ सय २३ जनाको आवेदन परेको हो ।

जिल्ला प्रहरी कार्यालयको तुलनामा सशस्त्रमा निकै कमको आवेदन परेको छ । जिल्ला प्रहरी कार्यालयमा ५ सय ८९ जनाको आवेदन परेकामा सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म मठमा ३४ जनाको मात्र आवेदन गरेको छ । प्रहरीका लागि बढी कोटा भएकामा धेरै जनालाई प्रहरी कार्यालयमा आवेदन दिनुपर्छ भन्ने भ्रम परेको सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मका निमित्त प्रमुख सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माले बताउनुभयो ।

दुई मध्ये जुन कार्यालयमा पनि आवेदन दिन सकिने उहाँले बताउनुभयो । दुवै कार्यालयमा जति आवेदन पर्छ त्यसबाट संयुक्त रूपमा छनौट हुने भएकोले जहाँ आवेदन दिए पनि हुने उहाँको भनाई छ । साथै उहाँले दुई ठाउँमा आवेदन नदिन पनि आग्रह गर्नुभयो । संयुक्त छनौट हुने भएकोले एउटा कार्यालयमा आवेदन दिए पुग्ने उहाँले स्पष्ट पार्नुभयो ।

निर्वाचन प्रहरीका लागि माघ १ गतेसम्म आवेदन दिन सकिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो । धेरै समय नभएकोले आफूलाई पायक पर्ने कार्यालयमा पुगेर आवेदन दिन उहाँले योग्य युवाहरूलाई आग्रह गर्नुभएको छ ।

जिल्लामा यसपालिको निर्वाचनका लागि ९ सय ४९ जना निर्वाचन प्रहरी भर्ना गरिँदै छ । जसमध्ये ८ सय ५३ जना प्रहरी मार्फत परिचालन हुने छन् भने ९६ जना सशस्त्र प्रहरी मार्फत परिचालन हुने छन् । 

तोकिएको समयमा आवेदन भरेकाहरू मध्यबाट जिल्ला सुरक्षा समिति वा समितिले बनाएको छनोट उप समितिले संयुक्त छनोट गर्ने र ८ सय ५३ जनालाई जिल्ला प्रहरी कार्यालय तथा ९६ जनालाई सशस्त्र प्रहरीले तालिम दिएर परिचालन गर्ने छ । 

सरकारले निर्वाचनको सुरक्षा परियोजनका लागि ४० दिनका लागि निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो । यस अघि म्यादी प्रहरी नामकरण गरिए पनि यस पटक देखि भने सरकारले नाम परिवर्तन गरी निर्वाचन प्रहरी बनाएको छ । सरकारले यसअघि नेपाल प्रहरीलाई मात्र म्यादी प्रहरी परिचालनको अधिकार दिएको थियो भने यो पटक सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरी परिचालन गर्ने अधिकार पाएको छ ।।

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update