रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाबाट गैर कानुनी रूपमा बर्दिया लैजान लागिएका १५ जना बालबालिकाको उद्धार गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ का १५ जना बालबालिकालाई १० दिने नैतिक शिक्षा सिकाउन भनी राष्ट्रिय बहाइ समुदाय नामक संस्थाले बर्दिया लैजान लागेका बालबालिकाहरूको आज बिहान उद्धार गरिएको हो ।
गाडी मार्फत लैजान लागिएका उनीहरूलाई वडाको स्यालबासे भन्ने स्थानबाट बिहान ७ बजेतिर सानीभेरी गाउँपालिकाको पहलमा उद्धार गरी अभिभावकको जिम्मा लगाइएको सानीभेरी गाउँपालिकाका बाल कल्याण अधिकारी मानवीर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार १५ जना बालबालिकालाई सम्बन्धित अभिभावकहरूको लिखित मन्जुरी नलिई, वडा कार्यालय सँग कुनै पनि समन्वय नगरी तथा गाउँपालिकामा कुनै जानकारी नगराई गैर कानुनी रूपमा बर्दिया लैजाँदै गरेको अवस्थामा वडा नम्बर ४ समेतको समन्वयमा प्रहरीले उद्धार गरेको हो ।
पालिकाका बाल कल्याण अधिकारी ओलीको सहजीकरणमा उक्त सबै बालबालिकाहरूलाई अभिभावकको जिम्मा लगाइएको हो । १५ जना बालबालिका मध्ये ९ जना बालक र ६ जना बालिका रहको ओलीले जानकारी गराउनुभयो । जसमा १३ वर्ष देखि १७ वर्ष सम्मका बालबालिकाहरू रहेको उहाँको भनाई छ ।
संस्थाको आधिकारिकता बारे प्रहरीबाट अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । यदि संस्था आधिकारिक भए पनि यसरी बालबालिकालाई अभिभावकको मन्जुरीविना, स्थानीय सरकारको सिफारिस नभई अर्को स्थानमा लैजानु गैर कानुनी हुने बाल कल्याण अधिकारी ओलीले बताउनुभयो ।
गैर कानुनी रूपमा बालबालिकाहरूलाई लैजान लागिएपछि यो घटनालाई शङ्कास्पद रूपमा हेरिएको छ । कुन प्रयोजनका लागि लैजान लागिएको हो, कानुनी प्रक्रिया किन पुरा गरिएन भन्ने लगायतका विषयमा अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।





-1759842583.jpg)