Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा १५ शैयाको आधुनिक अस्पताल भवन सञ्चालनमा,  लागत कति ?
फोटो : पत्रकार नारायण ओली

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा १५ शैयाको आधुनिक अस्पताल भवन संचालनमा आएको छ । गत शुक्रबार गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टलले औपचारिक रूपमा उद्घाटन गरेसँगै सेवा सञ्चालनमा  ल्याइएको हो ।  उक्त अस्पताल भवनको शिलान्यास तत्कालीन गाउँपालिका अध्यक्ष नरबहादुर पुन २०७८ सालमा गर्नुभएको थियो । २०७८ साल जेठ ३१ गते सम्झौता भइ काम सुरु भएको अस्पताल भवनको काम सम्पन्न नभएपछि पहिलो पटक २०८० साल असार ९ गते र दोस्रो पटक २०८१ साल भदौ १८ गते म्याद थप गरिएको थियो । दुइ पटक म्याद थपपछि २०८२ सालको असारअन्तिमतिर निर्माणको काम सम्पन्न भएको सानीभेरी गाउँपालिका सव इन्जिनियर भुवन ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पताल भवन निर्माणको ठेक्का शिवशक्ति/थोडुङ/बुद्ध हिमाली जेभी काठमाडाैले पाएको थियो । सुरुमा निर्माण कार्यका लागि १६ करोड ७९ लाख २ हजार ११० रुपैयाँ १० पैसामा सम्झौता भएपनि निर्माण अवधिमा थप, घट (भेरिएसन) कार्यसमेत भएपछि अन्तिम भुक्तानीसहित कुल लागत १७ करोड ५८ लाख ५१ हजार ४८६ रुपैयाँ लागेको उहाँको भनाई छ । 

नयाँ भवन सञ्चालनमा आएसँगै सानीभेरी गाउँपालिकाका नागरिकले आधुनिक पूर्वाधारयुक्त वातावरणमा थप सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा पाउने गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले बताउनुभयो । सेवा सुरु भएसँगै सामान्य तथा आधारभूत उपचारका लागि जिल्ला सदरमुकाम तथा बाहिर धाउनुपर्ने बाध्यता कम हुने उहाँको भनाइ । अस्पताल भवन उद्घाटनको अवसरमा स्वास्थ्यकर्र्मी तथा अस्पताल निर्माणकाे लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादातालाई  समेत गाउँपालिकाले सम्मान गरेको सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काले जानकारी दिनुभयो । 


 

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update