रुकुम पश्चिमका दुई स्थानीय तहमा “नेपालमा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार सुधारका लागि स्वास्थ्य प्रणाली उत्थानशील परियोजना” शुभारम्भ गरिएको छ । जिल्लाको सानीभेरी गाउँपालिकामा हिजो र मुसिकोट नगरपालिकामा आज एक कार्यक्रमका बिच उक्त परियोजना शुभारम्भ गरिएको हो । आई पास नेपालको आर्थिक सहयोग तथा रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमको सहकार्यमा उक्त परियोजना शुभारम्भ भएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार परियोजनाको मुख्य उद्देश्य नेपालका सीमान्तकृत महिला, बालबालिका तथा किशोर किशोरीहरूको समग्र यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार सुधार गर्नु रहेको छ । त्यस्तै स्वास्थ्य प्रणालीलाई प्रवर्द्धन गर्ने, महिला तथा किशोर किशोरी र बालबालिकाको स्वास्थ्य अधिकारलाई कायम राख्ने, नीति तथा निर्देशिकाहरूको अनुमोदन र कार्यान्वयनलाई सुदृढ बनाउने परियोजनाको उद्देश्य रहेको छ ।
“नेपालमा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार सुधारका लागि स्वास्थ्य प्रणाली उत्थानशील परियोजना” रुकुम पश्चिमका तीन स्थानीय तह मध्य अव चौरजहारी नगरपालिकामा उक्त परियोजना शुभारम्भ गर्न बाँकी रहेको कार्यकारी निर्देशक ओलीले जानकारी दिनुभयो । उक्त परियोजना पाँच वर्ष अर्थात् सन २०३० सम्म सञ्चालन हुनेछ ।





-1759842583.jpg)