Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा १० गतेबाट भर्ना अभियान सुरु हुने, विद्यालयले शैक्षिक कार्य योजना बनाउने

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा वैशाख १० गते बाटै भर्ना अभियान सुरु हुने भएको छ । सङ्घीय सरकारले यस वर्षको भर्ना अभियान वैशाख १५ गतेबाट सुरु गर्न परिपत्र गरे पनि सानीभेरी गाउँपालिकामा भने १० गतेबाटै भर्ना अभियान सुरु हुने भएको हो । 

गाउँपालिकामा आज सम्पन्न प्रधानाध्यापक बैठक तथा शैक्षिक अन्तरक्रिया कार्यक्रमले वैशाख १० गतेबाटै भर्ना अभियान सुरु गर्ने र पढाई भने सङ्घीय सरकारकै परिपत्र अनुसार वैशाख २१ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भूपालसिंह विष्टले जानकारी दिनुभयो । 

प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिकै माग अनुसार भर्ना अभियान वैशाख १० गतेबाट सुरु गर्ने निर्णय भएको उहाँले बताउनुभयो । भर्ना अभियानमा ढिलाइ हुँदा विद्यार्थीहरूमा अन्यौलता बढेको र शिक्षकहरू पनि फुर्सदिला भएको तथा १५ गतेबाट भर्ना अभियान थालेर २१ गतेबाट पढाई सुरु गर्न चाप पर्ने देखिएकोले यस्तो निर्णय भएको उहाँको भनाई छ ।

सबै विद्यार्थीहरूले भर्नासँगै हात हातमा पाठ्यपुस्तक समेत पाउने गाउँपालिकाले जनाएको छ । सबै विद्यालयमा पाठ्यपुस्तक पुगिसकेकोले भर्नासँगै विद्यार्थीहरूले पाठ्यपुस्तक पाउने गाउँपालिकाले जनाएको छ ।  

त्यस्तै गाउँपालिकाभरका विद्यालयहरूले शैक्षिक कार्य योजना निर्माण गर्ने भएका छन् । नयाँ शैक्षिक सत्र भरीको कार्य योजना बनाएर वैशाख २० गतेसम्म गाउँपालिकामा पेस गर्ने निर्णय भएको उहाँले बताउनुभयो । गाउँपालिकाको गाइडलाइनस् अनुसार समग्र शैक्षिक विकास र गुणस्तर वृद्धिलाई ध्यानमा राखेर कार्य योजना निर्माण हुने शिक्षा शाखा प्रमुख विष्टले बताउनुभयो । 

आज गाउँपालिकाको सभा हलमा आयोजित १ दिने प्रअ बैठक तथा शैक्षिक अन्तरक्रियामा समग्र शैक्षिक विकास, गुणस्तर कायम र थप राम्रो कसरी गर्न सकिन्छ भनेर व्यापक छलफल भएको बताइएको छ । बितेको शैक्षिक सत्रका समस्या, चुनौती, सिकाइ माथि समीक्षा गर्दै नयाँ शैक्षिक सत्रमा थप कसरी राम्रो गर्न सकिन्छ भनेर अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको शिक्षा शाखा प्रमुख विष्टको भनाई रहेको छ । उहाँका अनुसार उद्देश्य अनुसार कार्यक्रम भएको छ । 

गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्का, शिक्षा शाखा प्रमुख भूपालसिंह विष्ट, सबै विद्यालयका प्रअ, प्रतिनिधिमूलक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सबै वडाध्यक्ष, सबै कार्यपालिका सदस्यहरू, शिक्षा शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update