Kakhara सबैको खबर सम्पूर्ण खबर
हप्तामा २ दिन बिदापछि सानीभेरी गाउँपालिकाले विद्यालयकाे हिउँदे र बर्से बिदा कटायो 

सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय गरेपछि रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले बिद्यालयमा हिउँदे र बर्से बिदा कटौती गरेको छ । सरकारले शनिवार र आइतबार गरी हप्तामा २ दिन बिदा दिएपछि गाउँपालिकाले नयाँ शैक्षिक सत्रमा यसअघि दिइँदै आएको हिउँदे र बर्से बिदा कटौती गर्ने भएको हो । 

विद्यालयले वार्षिक कार्य पात्रो र कार्य योजना निर्माण गर्दा हिउँदे र वर्षे बिदा नराखेर बनाउने निर्णय भएको गाउँपालिका शिक्षा शाखा प्रमुख भूपालसिंह विष्टले जानकारी दिनुभयो । २ दिन बिदाले पठन पाठन प्रभावित हुने देखिएपछि हिउँदे र वर्षे बिदा कटौती गर्ने निर्णय भएको उहाँको भनाई छ । 

वैशाख ४ गते सम्पन्न प्रअ बैठक तथा शैक्षिक अन्तरक्रिया कार्यक्रमबाट यस्तो निर्णय भएको उहाँले बताउनुभयो । उहाँका अनुसार अब विद्यालयले सोही अनुसार वार्षिक कार्य पात्रो र कार्य योजना निर्माण गर्ने छन् भने सोही अनुसार कार्यान्वयन हुने छ । 

साथै गाउँपालिकाले कार्यसम्पादन सम्झौतामा कम अङ्क प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापकहरूलाई कारण सोधेको छ । शैक्षिक सत्र २०८२ मा गरिएको कार्यसम्पादन सम्झौतामा कम अङ्क प्राप्त गर्ने विद्यालयका प्रअरुलाई सो को कारण सहितको प्रतिवेदन शिक्षा शाखामा पेस गर्न भनिएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी गराउनुभयो ।

शैक्षिक गुणस्तर सुधार गर्न हरेक वर्ष प्रअहरुसंग कार्यसम्पादन सम्झौता गर्ने गरिएको र कम गर्न ल्याउने विद्यालयलाई थप जिम्मेवार बनाउन कारण सोध्ने निर्णय गरिएको उहाँको भनाई छ । 

त्यस्तै अब प्रअहरुले कम्तीमा हप्ताको एक पटक शिक्षकको कक्षा अवलोकन गर्नुपर्ने भएको छ । त्यसको जानकारी प्रतिवेदन सहित शिक्षा शाखामा पेस गर्नुपर्ने छ । प्रधानाध्यापकले ५ दिन भन्दा बढी बिदामा बस्नु परेमा त्यसको जानकारी अनिवार्य रूपमा शिक्षा शाखामा गराउनुपर्ने छ । 

यसका साथै विद्यालयहरूमा गाउँपालिकाद्वारा स्वीकृत मेनु अनुसार स्थानीय उत्पादनमा आधारित दिवा खाजाको प्रभावकारी प्रबन्ध मिलाउने समेत निर्णय भएको छ । गाउँपालिकाले वैशाख १० गतेबाट भर्ना अभियान सुरु गर्ने निर्णय समेत गरेको छ । 

सङ्घीय सरकारले वैशाख १५ गतेबाट भर्ना अभियान र वैशाख २१ गतेबाट पढाई सुरु गर्ने निर्णय गरे पनि गाउँपालिकाले १० गतेबाटै भर्ना अभियान थाल्ने र २१ गतेबाट पढाई सुरु गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update