Kakhara सबैको खबर सम्पूर्ण खबर
ठुली दहलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थप पूर्वाधार निर्माण, फोहोर व्यवस्थापन गर्न डस्विन राखिदै 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ स्थित ठुली दह पछिल्लो समय आन्तरिक पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण तथा वरपर फैलिएको वन क्षेत्रका कारण ठुली दहमा जिल्लाभित्र तथा छिमेकी जिल्लाबाट समेत घुम्न आउनेको संख्या बढ्दै गएको छ  । ठुली दह क्षेत्रको संरक्षण तथा पर्यटकीय पूर्वाधार विकासका लागि विभिन्न निकायबाट योजना समेत सञ्चालन भइरहेका छन् ।

यसअघिका वर्ष डिभिजन वन कार्यालय मार्फत बर्सातको पानी सङ्कलन गर्ने आरभीटी निर्माण गरिएको थियो । सङ्घीय सरकारको हस्तान्तरण योजना अन्तर्गत चालु आर्थिक वर्षमा आकासे पानी सङ्कलन गर्न फिल्टर तथा ट्याङ्की निर्माण, दुई वटा शौचालय निर्माण, मन्दिर निर्माण तथा गोरेटो बाटोको स्तरोन्नति गरी ढुङ्गा बिछाउने कार्य सञ्चालन भइरहेको वडा अध्यक्ष एक्कबहादुर  पाण्डेले जानकारी  दिनुभयो । उहाँका अनुसार यसअघि दहसम्म पुग्न गोरेटो बाटोको स्तरोन्नति तथा ढुङ्गा बिछाउने काम, प्रवेशद्वार निर्माण, प्रतीक्षालय निर्माण तथा दह संरक्षणसम्बन्धी संरचना निर्माण भएका छन् । 

यसैबिच, विश्व वातावरण दिवसको अवसरमा भोलि वडा कार्यालय मुसिकोट–७ को आयोजनामा ठुली दह वरपर सरसफाइ गर्नुका साथै फोहोर व्यवस्थापनका लागि डस्टबिन समेत राखिने वडा अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । दह आसपासमा भएको फोहोर व्यवस्थापन गर्न वडा तथा नगरपालिकाले चासो नदेखाएको भन्दै केही दिन अघिदेखि आलोचना भइरहेको छ । दह पुग्ने आन्तरिक पर्यटकहरूले जथाभाबी फोहोर फाल्दा दहमा फोहोर बढेको छ ।

त्यसलाई मध्यनजर गर्दै फोहोर व्यवस्थापनको लागि डस्विन राख्न लागिएको वडाले जनाएको छ । पछिल्लो समय ठुली दह पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्दै गएपछि फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । फोहोर व्यवस्थापन गर्न दहको वरपर वडाले डस्विन राख्ने भएपछि फोहोर व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ । पर्यटकीय सम्भावना बोकेको ठुली दहमा पूर्वाधार विस्तारसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update