Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथा उत्तरगंगाले बनायो तीन पुल, वर्षौंदेखिको यातायात समस्या अन्त्य
फाेटाे : विमलराज डाँगी ।

वर्षात् लागेसँगै नदीको बहावका कारण सधैँ यातायात अवरुद्ध हुने रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा अब सहज आवागमनको बाटो खुलेको छ । गाउँपालिकाले सानीभेरी र उत्तरगंगा नदीमाथि तीन वटा बेलीब्रिज निर्माण गरेपछि वर्षौंदेखि स्थानीयले भोग्दै आएको सास्ती अन्त्य भएको हो । सहिद मार्ग सडक खण्डअन्तर्गत दुई तथा भित्री सडक खण्डमा एक गरी तीन वटा पुल निर्माण गरिएका हुन् । 

गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरका अनुसार वडा नम्बर १० को तक र वडा नम्बर ११ को सेरालाई जोड्ने २७ मिटर लामो पुल उत्तरगंगा नदीमाथि निर्माण गरिएको छ । त्यस्तै वडा नम्बर १ को मैकोट र वडा नम्बर ५ को हुकाम जोड्ने २७ मिटर लामो पुल सानीभेरी नदीमाथि निर्माण गरिएको छ । त्यसैगरी वडा नम्बर ६ को डिम्मुरगैरा र वडा नम्बर ९ को खाराबाङ जोड्ने ३० मिटर लामो पुल पनि सानीभेरी नदीमाथि निर्माण गरिएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । 

मैकोट–हुकाम तथा डिम्मुरगैरा–खाराबाङ जोड्ने पुलबाट सवारी सञ्चालन भइसकेको छ भने तक–सेरा जोड्ने पुल बुधबार उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ । वर्षातको समयमा पुल नबन्दासम्म नदीमा पानीको बहाव बढ्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प हुने समस्या थियो । विशेष गरी उत्तरगंगा नदीका कारण स्थानीयले खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा अन्य सामान पिठ्युँमा बोकेर ओसार्नुपर्ने बाध्यता भोग्दै आएका थिए । 

पुल उद्घाटन कार्यक्रममा अध्यक्ष घर्तीमगरले अब नदीका कारण यातायात अवरुद्ध नहुने बताउँदै गाउँपालिका केन्द्रदेखि हुकाम–मैकोटसम्म सहज पहुँच स्थापित भएको उल्लेख गर्नुभयो । “ठूलो बजेट खर्च गरेर निर्माण गरिएका यी पुलले स्थानीयको वर्षौंदेखिको दुःख अन्त्य गरेको छ,” उहाँले भन्नुभयो । स्थानीय रामधन घर्तीमगरले पनि पुल निर्माणलाई गाउँका लागि ठूलो उपलब्धिको रूपमा व्याख्या गर्नुभयो । “पहिले वर्षा लागेपछि गाडी चल्ने सम्भावना नै हुँदैनथ्यो । सेराबाट सामान पिठ्युँमा बोकेर ल्याउनुपर्ने बाध्यता थियो । अहिले पुल बनेपछि ठूलो क्रान्ति जितेजस्तो लागेको छ,” उहाँले भन्नुभयो ।

तीनवटै पुल निर्माणको जिम्मा जलप नेपाल प्राइभेट लिमिटेडले पाएको थियो । कम्पनीले करिब ४ करोड ५० लाख रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ । स्थानीयवासीका अनुसार पुल निर्माणसँगै पुथा उत्तरगंगाका दुर्गम बस्तीहरू सडक सञ्जालसँग जोडिने भएका छन् भने शिक्षा, स्वास्थ्य, व्यापार तथा सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । 

728652726_1562610492231380_1316535300402554951_n-1782377062.jpg

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update