Kakhara सबैको खबर सम्पूर्ण खबर
रसुवा बाढी : पीडितको सहयोगमा जुट्यो रुकुमेली समाज विकास केन्द्र

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित नागरिकहरूको राहत तथा मानवीय सहयोगका लागि रुकुमेली समाज विकास केन्द्रले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ । केन्द्रले संस्थाका पूर्व सल्लाहकार, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू र संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरूबाट स्वेच्छिक रूपमा सहयोग संकलन गर्ने जनाएको छ । अभियानमार्फत १ लाख ५० हजार रुपैयाँ सहयोग रकम संकलन गर्ने लक्ष्य राखिएको रुकुमे समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो ।

बाढीका कारण ठूलो जनधनको क्षति, केही व्यक्तिको मृत्यु तथा बेपत्ता भएको र अर्बौं रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेकाले सहयोग संकलन  गर्न लागिएको केन्द्रका अध्यक्ष केशनकुमार क्षेत्रीयालले जानकारी दिनुभयो । संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने  छ ।

केन्द्रले प्राकृतिक विपत्तिबाट पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै सबैलाई मानवीय सहयोगमा हातेमालो गर्न आग्रह गरेको छ । भोटेकोशी क्षेत्रमा आएको बाढीपछि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले समेत प्रभावित नागरिकका लागि राहत तथा उद्धार सहयोगको अपिल गरिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update