रुकुम पश्चिमको जिल्ला अस्पतालले निःशुल्क भिडियो एक्सरे गर्न थालेको छ । गर्भवती महिलाहरुको भिडियो एक्सरे सुरु गरेको जिल्ला अस्पतालले जनाएको छ । आफ्नो गर्भमा रहेको बच्चाको अवस्था के कस्तो छ भनेर पत्ता लगाउन र स्वास्थ्य अवस्थाको अन्य जानकारीका लागि पनि गर्भवती महिलाहरुले भिडियो एक्सरले गर्ने गर्दछन् ।
यही साउन महिनादेखि गर्भवती महिलाहरुको भिडियो एक्सरे निःशुल्क गरेको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले जानकारी दिनुभयो । गर्भवती महिलाहरुको सहायता स्वरुप यो निर्णय गरेर कार्यान्वयनमा लगिएको बुढाथोकीले बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिले अर्कै निर्णय गरेपछि बाहेक नत्र अब यो सेवा निःशुल्क नै हुने उहाँले बताउनुभयो । यस अघि जिल्ला अस्पतालले एक जनाको भिडियो एक्सरे गरे वापत ४ सय ५० रुपैयाँ लिने गरेको थियो । अस्पतालमा भिडियो एक्सरेका लागि दैनिक २० भन्दा बढी गर्भवती महिलाहरु आउने गरेका छन् ।