Kakhara सबैको खबर सम्पूर्ण खबर
भकभके–डुप्का मोटरेबल पुल बन्ने
बाँफिकोट तथा सिस्ने गाउँपालिकाका अध्यक्ष सहित उक्त बैठकमा सहभागिहरु ।

बाँफिकोट गाउँपालिका र सिस्ने गाउँपालिका जोड्नको लागि सानीभेरी नदिमा मोटरेबल पुल बन्ने भएको छ । बाँफिकोट गाउँपालिका २, को भकभके र सिस्ने गाउँपालिका ८, को डुप्का जोड्ने गरी सानीभेरी नदीमा मोटरेबल पुल बन्ने भएको हो । पुल योजना पश्चिम क्षेत्र नम्बर ३ ले बजेटको व्यवस्थापन गरेको छ । ३ वर्ष अघि हुनुपर्ने उक्त पुल अन्यत्रै बनाउने भनेर भनिएपछि सुरु हुन सकेको छैन ।

विशेष गरी सिस्ने गाउँपालिका ८, का जनप्रतिनिधिले उक्त पुल धपे लैजानुपर्ने भनेर पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई भनेपछि बाँफिकोट २ ले त्यसैलाई अस्वीकार गरेको थियो । माटो परीक्षण र पुल निर्माण गर्ने भनेर भकभके र डुप्कामै नापिएको थियो । तल नापेको भएपनि यसलाई माथि धपे बनाउने चलखेल गरिएपछि बाँफिकोट क्षेत्रकाले त्यसलाई मानेका थिएनन् ।

अब भने दुवै पक्ष उक्त पुल भकभके र डुप्का जोड्ने गरी बनाउन सहमत भएका छन् । बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी र सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल सहितको टोलीले स्थलगत अध्ययन गरी उक्त पुल नापेकै ठाउँमा गराउने निर्णय गरेको हो । नापेको ठाउँ भन्दा केही तलमाथी बनाउन मिल्ने प्रावधान अनुसार नै पुल बनाउनका लागि दुवै गाउँपालिका अध्यक्ष सहमत भएका हुन् ।

बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले माटो परीक्षण गरी नापजाँच गरिएको ठाउँ भन्दा सार्न मिल्ने सम्म पूर्वपट्टि सार्ने गरी सल्लाह गरेर एकमतका साथ निर्णय गरेको जानकारी दिनुभयो । के के कारणले पुल निर्माणमा ढिलाई भएपछि अब पुल निर्माणको कामलाई गति दिन सयुंक्त छलफल गरेको अध्यक्ष केसीको भनाई छ ।

न्यू टेक्निकल कन्ट्रक्सन कम्पनीले उक्त पुल निर्मार्णको जिम्मा लिएको छ । यो पुल निर्माणपछि साविकको स्यालापाखा र पीपल वारपारमा सहज हुन्छ । हाल सानीभेरी नदी तर्नका लागि फलामगौंडामा मात्रै मोटरेबल पुल छ ।

प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update