रुकुम पश्चिममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ । स्थानीय तह बनेपछि जिल्लामा पहिलो पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुन लागेको हो । जिल्ला खेलकुद विकास समितिले असार ६, ७ र ८ गते शिल्ड आयोजना गरेको छ । शिल्ड आठबीसकोट नगरपालिकाको वडा नम्बर ९ राडीस्थित बालकल्याण माविमा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेशकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार शिल्ड संचालनका लागि आठबीसकोट नगरपालिकाले समेत सहयोग गर्ने छ भने व्यवस्थापन विद्यालयले गर्ने छ ।
शिल्ड संचालन हुने बारेमा जिल्लाका सबै ६ वटै स्थानीय तहलाई जानकारी गराउँदै खेलकुद विकास समितिले सहभागिताका लागि अनुरोध गरेको छ । शिल्डमा विद्यार्थी उलपब्ध गराईदिन सबै स्थानीय तहलाई पत्राचार गरिसकेको अध्यक्ष शर्माले बताउनुभयो । शिल्डमा विभिन्न विधामा प्रतिस्पर्धा हुने छ । भलिबल छात्र, छात्रा, एथ्लेटिक्स अन्तरगत ट्रयाक तर्फ छात्र छात्रा १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर दौड हुने छ ।
त्यस्तै फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रिपलजम्प, छात्र ८ सय ग्राम र छात्रा ६ सय ग्राम ज्याभलिङ थ्रो, छात्र १२ पाउण्ड र छात्रा ८ पाउण्ड सटफुट खेल पनि संचालन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । मार्सलआर्ट अन्तरगत कराते तर्फ छात्र ४२ केजी, ४७ केजी र ५२ केजी तथा छात्रा ४० केजी, ४८ केजी र ५१ केजी तौल समुहमा प्रतिस्पर्धा हुने छ । भने तेक्वान्दो तर्फ छात्र ४५ केजी, ४८ केजी र ५१ केजी तथा छात्रा ४२ केजी ४४ केजी र ४६ केजी तौल समुहमा प्रतिस्पर्धा हुने छ ।
स्थानीय तहहरुले राष्ट्रपति रनिङ शिल्ड संचालन गर्ने गरेपनि जिल्ला स्तरीय शिल्ड भने हालसम्म संचालन भएको छैन् । स्थानीय तहले संचालन गर्ने शिल्डबाट उत्कृष्ट हुने विद्यार्थी जिल्ला स्तरीय शिल्डमा सहभागि हुन पाउँछन् । यो वर्ष जिल्लाका केही स्थानीय तहले मात्र शिल्ड संचालन गरेका छन् । शिल्ड संचालन गरेका स्थानीय तहले स्थान हात पारेका विद्यालयलाई पठाउने छन् भने नगरेका स्थानीय तहले छनौट गरेर पठाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शर्माले बताउनुभयो ।