
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय चौतारा मेलाको अवसरमा आठबीसकोट नगरपालिका वडा नम्बर ९ मा कार्तिक १४ गते देखि २ लाख २० हजार पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको हो ।
२८ औं चौतारा मेलाको अवसरमा महिला पुरुष भलिबल, पुरुष ब्याडमिन्टन र लोक दोहोरी प्रतियोगिता आयोजना गरिएको छ । जसमध्य पुरुष भलिबलको विजेता पुरस्कार २ लाख २० हजार राखिएको आठबीसकोट नगरपालिका वडा नम्बर ९ ले जनाएको छ । वडा कार्यालयका अनुसार उप विजेता पुरस्कार १ लाख ५० हजार राखिएको छ ।
त्यस्तै सेमिफाइनल पुग्ने दुई टिम अर्थात शान्त्वना हुने दुई टिमलाई समान १/१ लाख प्रदान गरिने छ । महिला भलिबलको विजेता पुरस्कार भने १ लाख ३० हजार राखिएको छ । उप विजेता पुरस्कार ८० हजार राखिएकामा सेमिफाइनल पुग्ने २ टिमलाई समान ५०/५० हजार पुरस्कार राखिएको छ ।
६५ हजार पुरस्कार राशिको पुरुष ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । उप विजेता जोडीले भने ४० हजार नगद पुरस्कार पाउँने छ । सेमिफाइनल पुग्ने २ जोडीले समान १५/१५ हजार पुरस्कार पाउने वडा कार्यालयले जनाएको छ । लोक दोहोरीको पुरस्कार पनि ठूलो राखिएको छ ।
लोक दोहोरीको प्रथम पुरस्कार २० हजार, द्धितिय पुरस्कार १५ हजार र तृतिय १० हजार पुरस्कार राखिएको छ । यस प्रतियोगिताको पुरस्कार मात्र १० लाख ६० हजार रहेको छ । यो प्रतियोगिता जिल्लाकै अहिलेसम्मकै ठूलो पुरस्कार राशिको हो । गत वर्षपनि मेलाको अवसरमा ठूलो पुरस्कार राशिको प्रतियोगिता राखिएको थियो ।