
रुकुम पश्चिमको प्रसिद्ध धार्मिक स्थल डिग्रे शाइकुमारी मन्दिरमा ३ दिनमा १ हजार ६१ बोका बलि दिइएको छ । कार्तिक शुक्ल द्धादशी देखि चतुर्दशीसम्म डिग्रे शाइकुमारीको मन्दिरमा १ हजार ६१ वटा बोका बलि चढाइएको हो । मेलाको पहिलो दिन हरिवोधनी एकादशी र अन्तिम दिन पूर्णिमाको दिन मन्दिरमा बलि दिइदैन् । दोस्रो, तेस्रो र चौथो दिन भने लगातार ३ दिन डिग्रे शाइकुमारी मन्दिरमा बोका बलि दिएको थियो ।
उक्त ३ दिनको अवधिमा मन्दिरमा १ हजार ६१ बोकाको बलि चढेको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । बलि चढाएको बोकाको टाउको मेलाबाट नै बिक्रि गरिएको मन्दिर व्यवस्थापन समितिका अक्ष्यक्ष शैलेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बोकाको टाउको विक्रिबाट ६ लाख ६६ हजार रकम संकलन भएको छ ।
मन्दिरमा दर्शनार्थीहरुले चढाएको भेटीको रकम भने गणनाकै क्रममा रहेको छ । मन्दिरमा संकलन भएको भेटी आज जिल्ला प्रशासन कार्यालयमा ल्याइएको र गणनाको काम भइरहेकोले केही दिन लाग्ने अध्यक्ष केसीले बताउनुभयो । मेलाको क्रममा मन्दिर दर्शनका लागि आएकाहरुबाट संकलन भएको रकम मेला व्यवस्थापन, सरफाई, मन्दिर परिसर वरपर भौतिक संरचना निर्माण लगायतका काममा खर्च गर्ने गरिएको मन्दिर व्यवस्थापन समितिको भनाई छ । यो वर्ष डिग्रे मेला कार्तिक १८ गते देखि सुरु भई कार्तिक २२ गते मंगलबारसम्म संचालन भएको थियो ।