Kakhara सबैको खबर सम्पूर्ण खबर
मतदान अधिकृत र सहायक मतदान अधिकृतले गरे मतदानको नमूना अभ्यास  
मुसिकाेटमा भएकाे मतदानकाे नमूना अभ्यास ।

रुकुम पश्चिमका दुई वटा स्थानीय तहमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम संचालन गरिएको छ । मंसिर ४ को निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि निर्वाचन संचालन सम्बन्धी मुसिकोटमा तालिम दिइएको हो । त्यस्तै तालिममा सहभागी मतदान अधिकृत र सहायक मतदान अधिकृतले नमूना मतदान पनि गरेका छन् ।

खलंगाको बालमन्दिरमा नमूना मतदान केन्द्र निर्माण गरी नमूना मतदान कार्यक्रम संचालन गरिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । मंसिर ४ को निर्वाचन संचालन गर्न सहज होस भनेर नमूना मतदान केन्द्र निर्माण गरी मतदानको अभ्यास गरिएको उहाँले बताउनुभयो । यसले सम्बन्धीत ठाउँमा मतदान केन्द्र निर्माण, मतदान सामग्रीको सुरक्षा, व्यवस्थापन, मतदानको प्रवन्ध मिलाउन सहज हुने विश्वास गरिएको उहाँले बताउनुभयो ।

नमूना मतदानमा १५ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु सहभागी भएको उहाँको भनाई छ । अव भोली जिल्लाका चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम संचालन गरिने छ भने पर्सि त्रिवेणी गाउँपालिका र मुसीकोट नगरपालिकाका लागि तालिम संचालन गरिने छ । मंसिर ४ गतेको निर्वाचनका लागि रुकुम पश्चिममा १ सय ३९ मतदान अधिकृत र १ सय ३९ सहायक मतदान अधिकृत खटिदै छन् । त्यस्तै अन्य कर्मचारी समेत गरी ११ सय बढी खटिदै छन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update