Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगे 

मंसिर ४ गते आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी रुकुम पश्चिममा अन्तिम चरणमा पुगेको छ । जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी तथा मतपत्र र मतपेटिका लगायतका सम्पूर्ण निर्वाचन सामग्रीहरु पुगिसेको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लाका सबै स्थायी र अस्थायी मतदान स्थलमा कर्मचारी र निर्वाचन सामग्री पुगेका हुन् । निर्वाचन केन्द्रमा पुगेका मतदान अधिकृतले सर्वदलिय, सर्वपक्षिय बैठक समेत बसालिसकेको उहाँको भनाई छ । अहिले मतदान केन्द्र निर्माणको काम चलिरहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । 

निर्वाचन अधिकृत लगायतको कर्मचारी र सुरक्षाकर्मीको टिमले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्ने गरि तयारी गरिरहेको उहाँले बताउनुभयो । निर्वाचनका लागि जिल्लामा सुरक्षाकर्मी र स्वमंसेवक बाहेक १ हजार १ सय १२ जना कर्मचारी खटिएका छन् । स्थानीय स्तरमै ५ सय ५८ जना स्वमंसेवक राखिएको छ । 

जिल्लामा ७६ वटा मतदान स्थल र १ सय ३९ वटा स्थायी मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्रहरु रहेका छन् । एउटा अस्थायी मतदान केन्द्र जिल्ला कारागार र अर्को अस्थायी मतदान केन्द्र मुसिकोट खलंगाको बराहटाकुरामा रहेको छ । अस्थायी मतदान केन्द्रमा समानुपातिक तर्फको मतदान गर्न पाइने छ । 

जिल्ला कारागारको केन्द्रमा कैदी बन्दीले सामानुपातिक तर्फ मतदान गर्ने छन् भने बराहटाकुरामा रहेको केन्द्रमा अस्थायी मतदाता नामावलीमा नाम रहेका कर्मचारी र सुरक्षाकर्मीले मतदान गर्न पाउने जिल्ला जिल्ला निर्वाचन अधिकारी मल्लले बताउनुभयो । जिल्लामा कुल १ लाख ४ हजार २ सय ८० नियमित मतदाता छन् भने १ हजार ३ सय अस्थायी मतदाता रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update