Kakhara सबैको खबर सम्पूर्ण खबर
७० जनाको आँखाको अप्रेशन

रुकुम पूर्वको भूमे गाउँपालिका २, काँक्रीमा सम्पन्न दुई दिने निःशुल्क आँखा शिविरमा ६९ जनाको मोतियाविन्दु र एक जनाको सामान्य शल्यक्रिया गरिएको छ। शिविरमा ३ सय ५२ जनाको आँखा परीक्षण गरिएको काँक्री स्वास्थ्य चौकीका इञ्चार्ज तिलकबहादुर रोका मगरले जानकारी दिनुभयो । नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुर दाङको प्राविधिक र नेपाल सरकारको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

सोमबार र मंगलबार सञ्चालन गरिएको शिविरमा छुटेकाहरुले चैत ५ र ६ गते रुकुम पश्चिमको सल्ले अस्पतालमा हुने शिविरबाट सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ । आर्थिक अवस्था कमजोर भएका र जिल्लाबाहिर गएर उपचार गर्न नसक्ने व्यक्तिलाई लक्षित गरी शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। शिविरमा डाक्टर सुलक्ष्मी कटुवालको नेतृत्वमा १४ जना स्वास्थ्यकर्मी खटिएका थिए । शिविरबाट सर्वसाधारण लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update