
रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा सहमतिमा स्ववियु नेतृत्व चयन गरिएको छ । विवादका कारण पूर्व निर्धारित समयमा नेतृत्व टुंगिन नसकेको मुसिकोटमा सोमबार बाँडीचुँडी सहमतीमा नेतृत्व चयन गरिएको हो ।
अखिल क्रान्तिकारीको नेतृत्वमा सबै संगठनको प्रतिनिधित्व हुनेगरी बागबण्डा मिलाइएको हो । अध्यक्षमा अखिल क्रान्तिकारीका रमेश केसी निर्वाचित हुनुभएको छ । सचिवमा अनेरास्ववियुका दिनेश ओली र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका दुर्गाप्रसाद बिक निर्वाचित भएको क्याम्पस स्ववियु निर्वाचन समितिले जनाएको छ ।
सदस्यहरुमा अखिल क्रान्तिकारीबाट बिमल बुढाथोकी, बिष्णु ओली, यमराज डाँगी, नरेन्द्र खड्का र लोकेन्द्र बिक तथा नेपाल विद्यार्थी संघबाट उष्मानी पुनमगर, करिष्मा केसी र चन्द्रमा ओली निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत डम्बरबहादुर खड्काले बताउनुभयो ।

यसअघि मुद्दा परेपछि मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन रोकिएको थियो । क्याम्पसमा अखिल क्रान्तिकारीका विरुद्ध अन्य सबै संगठनले मोचाबन्दी गरेका थिए । तर उक्त प्यानलका अध्यक्ष, सचिव, कोषाध्यक्ष सहित २ जना सदस्य बाहेक सबै दाबी विरोधमा फालिएपछि उच्च अदालत सुर्खेतमा मुद्दा परेको थियो ।
त्यसपछि स्ववियु निर्वाचन विवादित बनेको थियो । यो संगै जिल्लाका सबै क्याम्पसमा स्ववियु निर्वाचन सकिएको छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गतका ७ र मध्यपश्चिम विश्व विद्यालय अन्तर्गतको एउटा क्याम्पस छ । जसमध्य ७ वटा क्याम्पसमा अखिल क्रान्तिकारी र एउटा क्याम्पसमा नेविसंघले नेतृत्व पाएको छ ।