रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ र ४ जोड्ने तिलिचा खोलाको मोटरेबल पुल निधारित समयअगावै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायिलाई सम्मान गरिएको छ । समयअगावै पुल निर्माणको काम सम्पन्न गर्ने निर्णाण व्यवसायी ज्वालामुखी हिमशिखर हिरा जेभी, काठमाडौंका प्रमुख नरहरि खड्कालाई कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकाले सम्मानपत्र प्रदान गर्नुभएको हो ।
बाँफिकोट गाउँपालिका-३ र ४ जोड्ने गरी तिलिचा खोलामा ६३ मिटर लामो दुई स्पानको प्रीस्ट्रेस्ड मोटरेबल पुल निर्माण गरिएको हो । उक्त पुलको मन्त्री रोकाले बुधबार उद्घाटन गरेर संचालनमा समेत आइसकेको छ ।
पुल निर्माणका लागि २०८२ असार २० गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०८४ असार २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले तोकिएको समयभन्दा ९ महिनाअघि नै २०८३ असोज ८ गते निर्माण सम्पन्न गरेको हो ।
उक्त पुल ८ करोड २० लाख ७८ हजार ३ सय ३१ रुपैयाँ लागत निर्माण सम्पन्न भएको पुर्वाधार विकास कार्यालय चौरजहारीले जनाएको छ । पुल निर्माणमा देखाएको समयबद्धता र कामप्रतिको जिम्मेवारीको प्रशंसा गर्दै मन्त्री रोकाले निर्माण व्यवसायीलाई सम्मान गर्नुभएको हो ।
उहाँले निर्धारित समयभन्दा अगावै गुणस्तरीय रूपमा आयोजना सम्पन्न गर्ने निर्माण कम्पनीको कामबाट अन्य निर्माण व्यवसायीले पनि सिक्नुपर्ने बताउनुभएकाे थियो ।
मन्त्री खड्काले विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गर्ने र लामो समयसम्म काम नगरी आयोजना अलपत्र पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने नीति प्रदेश सरकारले लिएको बताउनुभएको छ । समयअगावै काम सम्पन्न गरेकोमा बाँफिकोट गाउँपालिकाले पनि निर्माण व्यवसायिलाई सम्मान गरेको थियो ।





