कर्णाली प्रदेश सरकारका दुई मन्त्री उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एंव सरकारका प्रवक्ता कल्यानी खड्का र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोका तीन दिनसम्म गृह जिल्ला रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा पुगी जनतासँग प्रत्यक्ष भेटघाट गर्नु भएको छ । जनताका समस्या, आवश्यकता र गुनासा प्रत्यक्ष सुन्ने, विकास निर्माणको अवस्था बुझ्ने तथा सेवा प्रवाहका विषयमा जानकारी लिने उद्देश्यले मन्त्री खड्का र रोका जिल्लाका विभिन्न क्षेत्रमा पुग्नुभएको हो ।
पहिलो दिन असोज १४ गतेबाट सुरु भएको यात्राको पहिलो गन्तव्य चौरजहारी नगरपालिकामा थियो । सोही दिन मन्त्री खड्का र रोका तथा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले चौरजहारी ट्रायल सेन्टरको अनुगमन गर्नुभयो । अनुगमन क्रममा मन्त्री रोका र बमले आवश्यक काम सम्पन्न गरी ट्रायल सेन्टरलाई एक महिनाभित्र सञ्चालनमा ल्याउन यातायात व्यवस्था सेवा कार्यालय चौरजहारी र पूर्वाधार विकास कार्यालय चौरजहारीलाई निर्देशन दिनुभयो ।

। त्यसपछि मन्त्री खड्का र रोका सानीभेरी गाउँपालिका पुगेर नेकपाका नेता–कार्यकर्ता तथा सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट लगायत पालिकामा कार्यरत कर्मचारीसँग भेटघाट गर्नुभयो । भेटघाटमा स्थानीयका आवश्यकता, समस्या र गुनासा सुन्नुभयो । सोही दिन बाँफीकोट गाउँपालिका–३ र ४ जोड्ने तिल्चाखोला सडक पुलको उद्घाटन गर्नुभयो । समयअगावै निर्माण सम्पन्न भएको पुलले स्थानीय आवागमनमा सहजता ल्याएकाे मन्त्रीहरुको भनाइ थियो । साथै समयअगावै पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायी नरहरी खड्कालाई मन्त्री रोकाले सम्मानपत्रले सम्मान समेत गर्नुभएको थियो । त्यस्तैगरी सोही दिन सानीभेरी नदीले कटान गरेको बाँफीकोट–२ कुनाखेत क्षेत्रको स्थलगत अनुगमन गरी जोखिममा रहेको बस्तीको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

दोस्रो दिन असोज १५ गते मन्त्री द्धय खडरका र रोकाको यात्रा जिल्ला सदरमुकाम हुँदै त्रिवेणीसम्म भयो । बिहान डिभिजन वन कार्यालयले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी हुनुभएका उहाँहरु जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको जिल्लास्थित कार्यालय प्रमुखहरूसँग भेटघाट गरी विकास निर्माण र सेवा प्रवाहका विषयमा आवश्यक निर्देशन दिनुभयो । सोही दिन जिल्लामा क्रियाशील पत्रकारहरूसँग भेटघाट गरी विकास तथा जनसरोकारका विषयमा सुझावसमेत ग्रहण गर्नुभयो । त्यसपछि जिल्ला समन्वय समितिले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुनुभएका मन्त्री द्धय मुसिकोटमा नेकपाका नेता–कार्यकर्तासँग भेटघाट गर्नुभयो । त्यस्तै त्रिवेणी गाउँपालिका–२ सिम्रुतु पुगेर नेता–कार्यकर्ता तथा स्थानीयसँग भेटघाट गर्दै सिम्रुतु क्याम्पसको निरीक्षण गर्नुभयो । त्यसपछि त्रिवेणी–३ खारास्थित निर्माणाधीन जनयुद्ध संग्रहालय भवनको निरीक्षण गर्नुभयो ।

असोज १६ गते अर्थात तेस्रो दिन यात्रा मुसिकोटबाट सुरु भयो । मुसिकोट नगरपालिका–५ सेरिगाउँस्थित यमुना नन्द नमुना माध्यमिक विद्यालय पुगेर विद्यालयको शैक्षिक अवस्थाबारे जानकारी लिनुभयो । मुसिकोट नगरपालिका वडा नम्बर १३ ले आयोजना गरेको भेटघाट तथा जनगुनासा सुनुवाइ कार्यक्रममा सहभागी भई स्थानीयका समस्या र गुनासा सुन्नुभयो । साथै आफुले मन्त्रालयको तर्फबाट हुने गर्नसक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसपछि आठबिसकोट पुग्नुभएका मन्त्री द्धय खड्का र रोकाले नेकपा आठविसकोट नगर समितिले आयोजना गरेको नेता–कार्यकर्ता भेटघाटमा सहभागी हुनुभयो र आठविसकोट नगरपालिकामा रहेका समस्या गुनासा ग्रहण गर्नुभयो । सोही दिन आठबिसकोट नगरपालिकाको कार्यालय पुगेर विकास निर्माण तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभयो ।

यात्राका क्रममा राडीस्थित शहिद स्मृति नमुना माध्यमिक विद्यालयमा पुगेर विद्यालयको अवस्थाबारे जानकारी लिनुभएका मन्त्री द्धय खड्का र रोकाले राडी अस्पतालको निरीक्षणसमेत गर्नुभयो । अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा आवश्यक जनशक्तिबारे जानकारी लिनुभयो । तीन दिने गृहजिल्लाको भ्रमणको अन्तिम कार्यक्रममा मन्त्री द्धय खड्का र रोकाले आठबिसकोट नगरपालिका–८ दाजेमा आयोजित भाद्र पूर्णिमा मेलाको उद्घाटन तथा स्थानीयबासीका समस्या तथा गुनासा सुन्नुभयो । त्यस पश्चात उहाँहरु सोही दिन कर्णाली प्रदेश सुर्खेत फर्किनुभयाे ।






