रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ९ सिम्लीबाट एक व्यक्ति ब्राउन सुगर सहित पक्राउ परेका छन् । रुकुम पश्चिम प्रहरीले दाङ तुलसीपुर उपमहानगरपालिका ३ दमार गाउँ घर भई हाल सानीभेरी९ सिम्ली बजारमा डेरा गरी बस्ने अन्दाजी ३३ वर्षीय को टोप बहादुर परियारलाई बिहीबार पक्राउ गरेको हो ।
परियारले लागु औषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले परियारको डेरामा खानतलासी गर्दा कालो प्लास्टिकमा प्याक गरी बनाएको ७ वटा पुरिया तत्काल मान्यता प्राप्त तराजुमा नापतौल गर्दा शुद्ध तौल १ सय १० मिलिग्राम भएको लागु औषध ब्राउन सुगर फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो ।
उक्त दसी/प्रमाण रितपूर्वक बरामद गरी सोही स्थानबाट परियारलाई पक्राउ गरी रुकुम जिल्ला अदालत मुसिकोटबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । बिहीबार प्रहरी सानीभेरी ८ बाट अर्का एक युवकलाई पनि ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।





