रुकुम पश्चिममा ठेक्का दर्ता गर्न कसैलाई पनि वञ्चित नगरिएको निर्माण व्यवसायी संघ रुकुम पश्चिमले स्पष्ट पारेको छ । निर्माण व्यवसायीहरूले नियमित रूपमा ठेक्का दर्ता गरिरहेको र कुनै पनि निर्माण व्यवसायीलाई ठेक्का दर्ता गर्नबाट वञ्चित नगरिएको संघका अध्यक्ष प्ररवीर डाँगीले एक विज्ञप्ति जारी गर्दै स्पष्ट पार्नुभएको हो ।
असोज १३ गते सडक डिभिजन कार्यालय, चौरजहारीमा ठेक्का दर्ता प्रक्रियाका क्रममा निर्माण व्यवसायीहरूलाई ठेक्का दर्ता गर्न नदिएको तथा ठेक्का दर्ता गर्न नदिने क्रममा निर्माण व्यवसायीमाथि कुटपिट गरिएको भनी सामाजिक सञ्जालमा आएका विवरणप्रति निर्माण व्यवसायी संघ, रुकुम पश्चिमको गम्भीर ध्यानाकर्षण भएको उहाँले उल्लेख गर्नुभएको छ ।
उक्त दिन तथा त्यसअघिका दिनहरूमा समेत निर्माण व्यवसायीहरूले नियमित रूपमा ठेक्का दर्ता गरेको र कुनै पनि निर्माण व्यवसायीलाई ठेक्का दर्ता गर्नबाट वञ्चित नगरिएको कुरा स्पष्ट गराउन चाहन्छौँ, विज्ञप्तिमा भनिएको छ । साथै, उक्त घटनामा संलग्न दुवै पक्ष बिच आपसी सहमति भइसकेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघले यदि कुनै निर्माण व्यवसायीलाई टेन्डर प्रक्रियामा भाग लिनबाट वञ्चित भएको महसुस भएको खण्डमा सम्बन्धित निकायमा उजुरी दिई कानुनी प्रक्रियामा जान समेत आग्रह गरेको छ । यसमा निर्माण व्यवसायी संघ रुकुम पश्चिमले आवश्यक सहकार्य गर्ने समेत उल्लेख छ ।
त्यस्तै निर्माण व्यवसायीहरूको हक, अधिकार तथा सुरक्षाका लागि निर्माण व्यवसायी संघ निरन्तर रूपमा प्रतिबद्ध रहेको संघले जनाएको छ । नेपाल सरकारले निर्माण गरेको नियम तथा कानुनबमोजिम निर्धक्क भएर सम्पूर्ण हेक्का प्रक्रियामा सहभागी हुन सबै निर्माण व्यवसायीहरूमा संघले आह्वान समेत गरेको छ ।






