रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ८ दाजेमा २७ औं भाद्र पूर्णिमा मेला सुरु भएको छ । शुक्रबार मेलाको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्का र भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्काले संयुक्त रुपमा रिवन काटेर तथा व्यानर पढेर मेलाको रूपमा गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रीद्वयले मेला तथा महोत्सवले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै खेलकुद तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । उहाँहरूले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माण, स्थानीय प्रतिभाको पहिचान तथा प्रोत्साहनमा प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्नुभयो ।

कर्णाली प्रदेश सरकारले सडक, पुल, खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटन तथा अन्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै मन्त्रीहरूले विकास निर्माणका कामलाई गुणस्तरीय, दिगो र नागरिकको आवश्यकता केन्द्रित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । स्थानीयस्तरमा आयोजना हुने यस्ता मेलाले विभिन्न क्षेत्रका नागरिकलाई एकै ठाउँमा जोड्ने, आपसी सद्भाव बढाउने र स्थानीय उत्पादन तथा पर्यटनको प्रचारप्रसारमा समेत सहयोग पुग्ने बताउनुभयो ।
साथै, युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासन, स्वास्थ्य र सामाजिक एकताको विकासमा खेलकुदको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
लामा महिला, पुरुष भलिबल प्रतियोगिता, ब्याडमिन्टन, छेलो, भाले तान्ने र लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष गोपाल बुढाले जानकारी दिनुभयो । मेला उद्घाटन कार्यक्रममा मन्त्री खड्काको प्रमुख र मन्त्री रोकाको विषेश आतिथ्यता रहेको थियो । त्यस्तै ८ नम्बर वडा अध्यक्ष खगेन्द्र विक, ३ नम्बर वडा अध्यक्ष केशरमान विक, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, खेलाडी लगायत स्थानीयबासीको उपस्थित रहेको थियो ।





