Kakhara सबैको खबर सम्पूर्ण खबर
दशौँ राष्ट्रिय खेलकुद: रुकुम पश्चिमको छनोट जारी 

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रुकुम पश्चिमको छनोट चलिरहेको छ । जिल्लामा शुक्रवारबाट छनोट सुरु भएको हो । एक कार्यक्रमको आयोजना गरी सानीभेरी गाउँपालिका वडा नम्बर ३ को बेलटापु खेलमैदानमा छनोट सुरु भएको हो । 

बेलटापुमा खेल मैदानमा भलिबलको महिला पुरुष छनोट सुरु भएको छ । भलिबलको जिल्ला छनोट चलिरहेको भलिबल संघका सचिव प्रकाश विकले जानकारी दिनुभयो । त्यस्तै अन्य खेलको छनोट समेत जारी छ । तेक्वान्दो र फुटबलको छनोट समेत शनिवारबाट सुरु भएको छ । 

असोज २२ गतेसम्म छनोट सम्पन्न गर्ने गरी जिल्लामा धमाधम छनोट चलिरहेको छनोटका लागि कर्णाली प्रदेशबाट खटाइनुभएकी जिल्ला संयोजक भिमकुमारी भुषालले जानकारी गराउनुभयो । जिल्लामा खेलकुद विकास समितिको नेतृत्व नरहेका कारण प्रदेश खेलकुद विकास परिषद्ले संयोजक खटाएको छ । 

तेक्वान्दोको छनोट बराहटाकुरा कबर्ड हलमा चलिरहेको छ भने फुटबलको छनोट मुसिकोट १३ को छिवाङ खेल मैदानमा चलिरहेको जिल्ला फुटबल संघले जनाएको छ । २२ गतेसम्म जिल्लाबाट प्रदेश छनोट खेल्ने सबै खेलाडीको टुङ्गो लागिसक्ने संयोजक भुसालको भनाई छ । 

जिल्लाबाट छनोट भएका खेलाडीहरूले कर्णाली प्रदेश छनोट खेल्न पाउने छन् भने त्यहाँबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्ने खेलाडी छनोट हुनेछन् ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update